Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै वर्षमा नेपालको उद्योग क्षेत्रमा ४२ अर्ब ७७ करोडको चिनियाँ लगानी प्रतिबद्धता

एकै वर्षमा नेपालको उद्योग क्षेत्रमा ४२ अर्ब ७७ करोडको चिनियाँ लगानी प्रतिबद्धता


काठमाडौं । चिनियाँ लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले गत आर्थिक वर्षमा ४२ अर्ब ७७ करोड ४० लाख रुपैयाँ उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता जनाएका छन् ।

दुई सय ३० वटा उद्योग र १३ हजार छ सय एक जनाको रोजगारीसहित उक्त प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत आर्थिक वर्षमा २३ मुलुकमार्फत दुई सय ९५ वटा उद्योगको लागि ५८ अर्ब ४० करोड २७ लाख लगानी प्रतिबद्धता आएको छ ।

विदेशी लगानी ठूला उद्योगमा ठूलो लगानी नआएको सन्दर्भमा चिनियाँ लगानीकर्ताको लगानी ठूला लगानीका परियोजनाको लागि आएको छ ? भन्ने आर्थिक दैनिकको प्रश्नमा महानिर्देशक रामचन्द्र तिवारीले ठूला लगानीका परियोजनामा चिनियाँ लगानी आउन नसकेको बताए । ‘धेरै क्षेत्रमा चिनियाँ लगानी आए पनि ठूला परियोजनामा लगानी आएको छैन’, महानिर्देशक तिवारीले आर्थिक दैनिकसँग भने, ‘पर्यटन, सेवा, होटल, ऊर्जा र प्रविधि क्षेत्रमा लगानी आएको छ । ती लगानीहरु साना र मझौला उद्योगका लागि हुन् ।’

ठूलो परिमाणको लगानी नआए पनि समग्रमा लगानी प्रतिबद्धता रकममा भने वृद्धि भएको छ । चिनियाँ लगानी अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा सो लगानी प्रतिबद्धता ९१.४२ प्रतिशत अर्थात् २० अर्ब ४२ करोड ९० लाख रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७७/०७८ मा २२ अर्ब ३४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी एक सय ४० वटा उद्योग र चार हजार पाँच सय छ जनाको रोजगारीको लागि थियो ।

यसअघि भने भारतीय लगानी प्रतिबद्धता धेरै हुने गरेकोमा पछिल्ला वर्षहरुमा भने चिनियाँ लगानी धेरै आएको हो । पछिल्ला वर्षहरुमा भारतीय लगानीमा कमी र चिनियाँ लगानी बढेको छ यसमा चिनियाँ अभिरुचि भएको महानिर्देशक तिवारीले बताए । जुन मुलुकबाट आए पनि विदेशी लगानी ठूला परियोजनाका लागि आउनुपर्ने हाम्रो स्वार्थ वा रुचि होइन र ? भन्ने प्रश्नमा भने उनले हाम्रो स्वार्थ वा रुचि ठूला परियोजनाका लागि मोटो लगानी नै भएको बताउँदै साना तथा मझौलाका लागि भने लगानी नै आउनुहुन्न भन्नेचाहिँ नभएको बताए ।

‘साना तथा मझौला उद्योगमा लगानी आउँदा उनीहरुले रकममा मात्र लिएर आउँदैनन् जस्तो व्यवस्थापन, प्रविधि, कार्यशैलीलगायतका विषयहरु पनि साथमा आउँछ’, महानिर्देशक तिवारीले भने, ‘त्यसैले लगानी रकमसँग आउने विविध विषयहरुको साइकल छ त्यसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ त्यसैले ठूला परियोजना र रकमलाई मात्र हेर्नु आवश्यक छैन । तर हाम्रा बाध्यता भनेको विदेशी लगानी ठूला परियोजना उत्पदकत्व क्षेत्र, ऊर्जा क्षेत्रमा आओस् भन्ने हो ।’

चीनपछि धेरै लगानी गर्नेमा स्पेन रहेको छ । गत आर्थिक वर्षमा स्पेनका लगानीकर्ताहरुले एउटा उद्योगका लागि चार अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएका छन् । उनीहरुले २९ जनालाई रोजगारी दिने बताएका थिए । स्पेनपछि अमेरिकाले तीन अर्ब ७८ करोड ८९ लाख रुपैयाँ, भारतले तीन अर्ब १४ करोड ३८ लाख रुपैयाँ, सिंगापुरले एक अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । अमेरिकाले १४ वटा, भारतले १२ वटा र सिंगापुरले एउटा उद्योग तथा क्रमशः सान सय २९ जना, छ सय ६३ जना र २९ जनालाई रोजगारीको प्रतिबद्धता जनाएका हुन् ।

अष्ट्रेलियाले ५० करोड ६६ लाख रुपैयाँ, क्यानडाले ४९ करोड ७५ लाख, बेलायतले ४१ करोड ५० लाख रुपैयाँ, इटलीले ३६ करोड रुपैयाँ र जापानले १५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले चारवटा, क्यानडाले चारवटा, बेलायतले सातवटा, इटलीले पाँचवटा र जापानले दुईवटा उद्योग र क्रमशः एक सय ८८ जना, दुई सय ९३ जना, दुई सय १७ जना र ७८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका थिए ।

गत वर्ष सबैभन्दा कम भने संयुक्त अरब इमिरेट्स, फ्रान्स, भियतनाम र साइप्रसबाट क्रमशः पाँच करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । एउटा उद्योग स्थापनाको लागि उक्त लगानी प्रतिबद्धता आएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा रही विदेशी नागरिकले नेपालको उद्योग क्षेत्रमा लगानी गर्न पाउँछन् । ऐनले विदेशी लगानीकर्ताको हकमा लगानी गर्दा पुँजीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ कायम गरिएको छ भने माथिल्लो सीमा भने तोकिएको छैन । विदेशी तथा स्वदेशी लगानीकर्ताको हकमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक गरी छ प्रकारका उद्योग विभागमा दर्ता हुन्छन् ।

यसैबीच चिनियाँ लगानी वृद्धि भएसँगै व्यावसायिक भिसाको संख्या समेत बढेको छ । गत वर्ष अर्थात् सन् २०२० र २०२१ मा क्रमशः एक हजार तीन सय ७४ वटा र एक हजार तीन सय ४४ वटा गरी कुल दुई हजार सात सय १८ वटा व्यावसायिक भिसा चिनियाँ नागरिकलाई प्रदान गरिएको छ । व्यावसायिक भिसा लिनको लागि चिनियाँ मात्र नभई दक्षिण कोरियन, अमेरिकन, जापानी नागरिकहरु समेत बढेको अध्यागमन विभागले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x