Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग वाणिज्य महासंघ प्रदेश १ द्वारा विपद्मा व्यावसायिक निरन्तरताबारे व्यवसायीलाई अभिमुखीकरण

उद्योग वाणिज्य महासंघ प्रदेश १ द्वारा विपद्मा व्यावसायिक निरन्तरताबारे व्यवसायीलाई अभिमुखीकरण


विराटनगर । विपद्ले उद्योग तथा व्यवसायिक क्षेत्रको निरन्तरतामा पार्ने दिर्घकालिन प्रभावबारे उद्योगी तथा व्यवसायिक र सरोकारवाला व्यक्तिहरुका वीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को आयोजनामा आयोजित अभिमुखिकरणमा विपद्ले पार्ने असर र त्यसको रोकथामका लागि अपनाउन सकिने विधिबारे उद्योगी तथा व्यवसायिक क्षेत्रकालाई जानकारी गराइएको हो । कार्यक्रममा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले विपद्को अवस्था आइसकेपछि भइरहेका विद्यमान व्यवस्था र सन्तुलनलाई असर पु-याउने हुँदा त्यसको ठुलो असर उद्योग व्यवसाय क्षेत्रमा पर्नसक्ने भएकोले विपद् अघि नै जोखिम न्यूनिकरण गर्नका लागि आवश्यक उपायको खोजी गर्नुपर्ने बताए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शिवकुमार कार्कीले विपद्ले मुलुकको अर्थतन्त्रलाई नै असर गर्ने भएकोले उद्योगी व्यवसायी क्षेत्रमा त्यसबारे पर्याप्त ज्ञान सिपको आवश्यकता हुनुपर्ने भन्दै उद्योगहरुले विपद् जोखिम न्यूनिकरणका लागि योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए ।

यस्तै उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका सभापति किशोर प्रधानले विपद्को समयमा उद्योगहरुलाई बचाउन व्यवसायीहरु नै बढि सजग हुनुपर्ने भन्दै त्यसकै लागि अभिमुखिकरणका माध्यमबाट व्यवसायिक र अन्य सरोकारवाला क्षेत्रलाई महासंघले सहजीकरण गरिरहेको बताए । कार्यक्रममा महासंघकी बरिष्ठ अधिकृत रजनी नेपाल र सहयोगी निकाय एसिया प्यासिफिक एलायन्सका कन्ट्री डाइरेक्टर ताई कामीकुराले विपद्को बेलामा व्यवसायिक क्षेत्रको निरन्तरताका लागि अपनाउनु पर्ने रणनीति र त्यसका लागि गर्नुपर्ने कामहरुबारे प्रस्तुतिकरणका माध्यमबाट जानकारी गराएका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले विपद्को बेलामा अन्य निकायहरु भन्दा पहिले राज्य तयार हुनुपर्ने भन्दै विपद् अघि नै गरिने तयारीले जोखिम न्यूनिकरणमा मद्दत पु¥याउने दाबी गरे । उपाध्यक्ष राउतले निजी क्षेत्रले समेत विपद्को समयमा सहयोग गर्दै आइरहेकोले सरकारसँगको सम्बन्ध सकारात्मक हुनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा नेपाल भुकम्पीय जोखिममा विश्वको ११औं र चट्याङको प्रकोपबाट हुने जोखिमा ५औं स्थानमा रहेको कुरा जानकारी गराइएको थियो ।

यस्तै ठुला विपद्का कारण व्यवसायिक क्षेत्र ध्वस्त हुने सम्भावना ४० प्रतिशत हुने र त्यस्तो जोखिमको २ बर्ष भित्र आवश्यक सेवा दिन नसकिए थप २० प्रतिशत उद्योग व्यवसाय ध्वस्त हुनसक्ने जानकारी गराइएको थियो । विपद्को समयमा पनि व्यवसायिक क्षेत्रले निरन्तरता पाएको खण्डमा त्यहाँ काम गर्ने श्रमिक तथा कर्मचारीहरुको जीवनको सुरक्षा, घाटा कम हुने, विश्वसनीयता र प्रतिष्ठामा बृद्धि हुने, प्रतिष्पर्धात्मक वित्तीय लाभ प्राप्तहुने र सामाजिक उत्तरदायित्व समेत सहजै पुरा हुने जानकारी गराइएको थियो । एकदिने अभिमुखिकरण कार्यक्रममा प्रदेश नं. १ का उद्योग वाणिज्य संघ, प्रदेश सरकारका विभिन्न मन्त्रालयका विपत व्यवस्थापन हेर्ने अधिकृत, स्थानीय नगरपालिका, गाउंपालिकाका प्रतिनिधि, उद्योग व्यवसाय क्षेत्रका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x