Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्पेनमा हुने व्यापार मेला प्रदर्शनीमा नेपाली हस्तकला उद्यमीहरुको सहभागिताको लागि सहयोग गर्न आग्रह

स्पेनमा हुने व्यापार मेला प्रदर्शनीमा नेपाली हस्तकला उद्यमीहरुको सहभागिताको लागि सहयोग गर्न आग्रह


काठमाडौं । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले स्पेनमा नियमित रुपमा हुने व्यापार मेला प्रदर्शनीहरुमा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताको लागि आवश्यक सहयोग गरिदिन स्पेनका लागि नेपालका नवनियुक्त राजदूतसँग आग्रह गरेका छन् ।

स्पेन अधिराज्यका लागि नेपालका नवनियुक्त राजदूत डा. शर्मिला पराजुली ढकाललाई मंगलबार महासंघको कार्यालयमा स्वागत गर्दै अध्यक्ष शाक्यले स्पेनमा नेपाली हस्तकला वस्तुको बजार प्रवर्द्धनको लागि नेपाल एकदेशीय मेला, क्रेता बिक्रेता बैठक र स्पेनमा हुने व्यापार मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायीहरुको सहभागिताको लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

हस्तकला क्षेत्रले देशको कला र संस्कृतिलाई विश्वसामु परिचित गराएको बताउँदै उनले स्पेनमा नेपाली हस्तकला वस्तुहरुमध्ये फेल्ट, धातुका वस्तु तथा पश्मिनाका वस्तुहरु निकासी भएको जानकारी दिए । साथै उनले हस्तकला क्षेत्र रोजगारी सिर्जनासँगै विदेशी मुद्रा भित्राउने देशको निर्यातमूलक उद्योग व्यवसाय भएको बताए । गत आव २०७८/०७९ मा चार अर्बभन्दा बढीको हस्तकलाको वस्तुको निर्यात भएको तथा सोही परिमाणमा आन्तरिक बजारमा कारोवार भएको उनको भनाइ छ । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष गरी करिब आठ लाख व्यक्तिलाई रोजगारी प्रदान गरेको छ ।

महासंघले राजदूतसँग स्पेनमा नेपाली हस्तकला वस्तुहरुको प्रवर्द्धनलगायतका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले स्पेनमा नेपाल डेको रुपमा हस्तकला प्रदर्शनी गरी यस क्षेत्रको विकास र पवर्द्धनमा महत्वपूर्ण भमिका खेल्न सकिने र उक्त प्रयास महामहिम राजदूतको कार्यकालमा गर्नका लागि अनुरोध गरे । साथै स्पेनमा रहेका निकासीकर्ता तथा व्यापारीहरुबारे सूचना राजदूतावासबाट प्राप्त भएमा महासंघले सिधै सम्पर्क गर्न सकिने र स्पेनमा हस्तकलाका वस्तुहरुको प्रवर्द्धन गर्न सकिने जानकारी गराए । स्पेनमा नेपाली हस्तकलाको राम्रो माग र बजार भएको जानकारी गराउँदै उनले आउने दिनमा राजदूतावासबाट उपयुक्त स्थान र हस्तकलाको राम्रो प्रचारप्रसारको व्यवस्थापन गर्न सहयोग भएमा मेलाको आयोजना र नेपाली कलाकारहरुबाट कलाकृती उत्पादनसम्बन्धी जीवन्त कला प्रदर्शनीको माध्यमबाट स्पेनमा नेपाली हस्तकला र पर्यटन उद्योगको प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको बताए ।

निकासीकर्ता डा. गोविन्द टन्डनले राजदूत भएर कुनै देशमा गइसकेपछि के गर्ने भन्ने निश्चित गर्नुपर्ने बताउँदै स्पेनमा नेपाली हस्तकलालगायतका वस्तुहरुको प्रबर्द्धन तथा निकासी अभिवृद्धिका लागि दूतावास परिसरमा प्रदर्शनी कक्षको व्यवस्था गर्नुपर्ने बताए । नेपाल प्याभिलियनको निर्माण, नेपाली निर्यातकर्ता एवं तहाँका व्यवसायीहरुबीच भेटवार्ताको वातावरण बनाई बीटुबी कार्यक्रम गर्नुपर्ने उनको भनाइ थियो । यसैगरी निकासीकर्ता सुनिता श्रेष्ठले महिलाहरुले स्तरीय फेल्टजन्य वस्तु, सुतीजन्य वस्तुहरु उत्पादन गर्दै आएको बताउँदै राजदूतले नेपाली वस्तुहरुबारे राम्ररी जानकारी लिएर जानुपर्नेमा जोड दिइन् । यसै गरी महासंघका उपाध्यक्ष दिपेन्द्र शाक्यले स्पेनमा एक हस्तकला मेला आयोजना गर्न पहल सुरु गर्नुपर्ने बताए ।

छलफलको क्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले युरोपलगायत विश्वबजारमा नेपालको चिनारी गराउने वस्तुमध्ये हस्तकला समेत रहेको बताए । हाल यसमा धेरै युवाहरु नयाँ अवधारणासहित लागिपरेको अवस्थामा नेपालको प्रतिनिधत्व गर्ने स्पेनस्थित राजदूतावासबाट हस्तकलाको बजार प्रवर्द्धनमुखी विशेष कार्यक्रमहरु गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले आफू यसअघि ओमानका लािग नेपाली राजदूतमा नियुक्ति भई कार्यसम्पन्न गरी सकेको अनुभव सुनाउँदै स्पेनमा नेपालको मौलिक कला, संस्कृति, सम्पदा, पहिचानबारे व्यापक प्रचार गर्न सक्दो लागिपर्ने बताइन् । नेपाली हस्तकलालगायतका वस्तुहरुको बजार प्रवर्द्धनका लागि सम्भव भएसम्मको पहल अघि बढाउने उनले प्रतिबद्धता समेत जनाइन् । सरकारले समेत जोड दिने व्यापारिक कूटनीतिमा केन्द्रित भई स्पेन पुग्नासाथ आफूले वर्ष दिनमा गर्न सकिने उपयुक्त कार्यक्रमहरुको क्यालेण्डर बनाई अघि बढ्ने जानकारी दिइन् । साथै उनले महासंघको परिसरमा प्रदर्शित चाँदीजन्य गरगहना, धातुकला, हाते कागजका सामान, प्राकृतिक रेशाजन्य वस्तु, फेल्टजन्य वस्तु, पोतेजन्य वस्तुलगायतका विविध हस्तकला वस्तुहरुको अवलोकन समेत गरिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x