Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालगञ्जका तीनवटा ग्यास पसललाई कारबाही

नेपालगञ्जका तीनवटा ग्यास पसललाई कारबाही


बाँके, फागुन १४

नेपालगञ्जका तीनवटा पसल कारबाहीमा परेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेको नेतृत्वमा सोमबारदेखि सुरु गरिएको संयुक्त बजार अनुगमन टोलीले गैरकानुनीरूपमा ग्यास बिक्री गर्दै आएका तीनवटा पसललाई कारबाही गरेको हो । उनीहरूलाई जनही २० हजारका दरले जरिवाना गरिएको हो । अनुगमन टोलीले पहिलो दिन नेपालगञ्जमा रहेका पाँचवटा ग्यास बिक्रेता पसलहरूमा अनुगमन गरेको र सोही क्रममा गैरकानुनीरूपमा ग्यासका साना सिलिन्डर बिक्री गर्ने तीनवटा पसललाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । मापदण्डअनुसारका १५ दशमलव पाँच र १५ दशमलव छ किलो खाली वजन भएका बजारमा पाइने सिलिन्डरभन्दा साना खालका खरिद बिल नभएका सिलिन्डरमा कानुनविपरीत ग्यास बिक्री गर्ने पसल कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्ने पसलमा अस्पताल लाइन बास्कोटा मार्केटमा रहेको निरज स्टोर, चारवाहिनी रोडमा रहेको अस्तिका ट्रेडर्स एण्ड सप्लायर्स र धम्बोझी खजुरा रोडमा रहेको शिवम् मोबाइल सेन्टर रहेका छन् । अनुगमनकै क्रममा भेटिएका जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेलले मापदण्डमा तोकिएको भन्दा साना ग्यास सिलिन्डर बिक्री गर्न र शिलवाला ग्यास खोलेर अन्य खाली सिलिन्डरमा भरी बिक्रीवितरण गर्ने कार्य गैरकानुनी भएको बताए । अर्का अनुगमनकर्ता उपभोक्ता हित संरक्षण मञ्चका प्रभातसिंह ठकुरीले पहिला पहिला दशै र तिहारजस्ता ठूला चाडवाडमा मात्र हुने बजार अनुगमनका कारण व्यापारीले अन्य दिनहरूमा खुलेआम कालोबजारी गर्ने र उपभोक्ता लुट्ने काम गरेको बताए । नियमित बजार अनुगमनका कारण व्यापारीहरूले त्यसो गर्न नपाउने तथा उपभोक्ता पनि सचेत र जागरुक हुने हुँदा नियमित अनुगमन गरिएको बताए ।संयुक्त अनुगमन टोलीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौडेल, भूमिराम ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका रामसुरत चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातसिंह ठकुरी र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी इन्चार्ज सूर्यबहादुर बोगटी रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x