Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार्जिङस्टेसन निर्माण गर्न प्रहरी र विद्युत् प्राधिकरणबीच सम्झौता

चार्जिङस्टेसन निर्माण गर्न प्रहरी र विद्युत् प्राधिकरणबीच सम्झौता


काठमाडौं । विद्युतीय सवारी चार्जिङस्टेसन निर्माण तथा सञ्चालन गर्न नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत् प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्बन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्बन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारीसाधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारीसाधनहरूलाई सहजरूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो । सम्झौताअनुसार प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित पाँचवटा पेट्रोल पम्पहरू, प्रस्तावित चारवटा पेट्रोल पम्पहरू र बाँकी प्रहरी कार्यालयहरूका अन्य उपयुक्त स्थानहरू गरी २५ ठाउँमा चार्जिङस्टेसन स्थापना गरिनेछ । विद्युत् प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ्स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण तथा उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ गर्नेछ । प्रहरीले भने पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने र निर्माण भएपछि चार्जिङस्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने सम्झौतामा उल्लेख छ । उक्त चार्जिङस्टेसनहरू दीर्घकालीनरूपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुनेछन् ।

सम्झौताअनुसार सवारीसाधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल भने प्राधिकरणले संकलन गर्नेछ । यस्तै विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङस्टेसनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा प्रहरीको कल्याण महाशाखाले पाउनेछ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले चार्जिङस्टेसन निर्माण र सञ्चालनसम्बन्धी भएको सम्झौता ऐतिहासिक भएको बताए । यस्तै उनले आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङस्टेसन विस्तार गर्न समेत आग्रह गरे । विद्युत् चोरी, विद्युतीय पोल चोरीलगायतका विषयमा विद्युत् प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङस्टेसनहरूको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङस्टसशन स्थापना गर्ने लक्ष्य राखेको बताए । यसमा प्रहरीको भूमिका सबैभन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा पनि प्रहरीसँग प्रभावकारीरूपमा सम्बन्ध स्थापना हुने विश्वास व्यक्त गरे । चार्जिङस्टेसन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उनको भनाइ थियो । कार्यक्रममा उनले चार्जिङस्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब एक करोड रूपैयाँ लाग्ने बताए । यस्तै उनले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा विशेष सहुलियत दर औसतमा प्रतियुनिट करिब पाँच रूपैयाँमा तोकिएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको प्रयोग गरी गुड्ने गाडीको प्रतिकिलोमिटर खर्च १५/२० रूपैयाँ पर्छ भने विद्युत्बाट चल्ने गाडीको धेरै सस्तो प्रतिकिलोमिटर करिब ६० पैसादेखि एक रूपैयाँ मात्र पर्छ ।

कार्यक्रममा विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीले चार्जिङस्टेसनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत् प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्राधिकरणले देशैभरि ५१ स्थानमा अत्याधुनिक चार्जिङस्टेसन निर्माण गरिरहेको छ । उक्त स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ भने छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x