Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलघुवित्तपीडितहरूले आगामी असोज २५ गते सिंहदरबार घेर्ने

लघुवित्तपीडितहरूले आगामी असोज २५ गते सिंहदरबार घेर्ने


काठमाडौं । लघुवित्तीय संस्थाहरूलाई खारेजीको माग राख्दै आउँदो असोज २५ गते देशभरिका लघुवित्तपीडितहरूले सिंहदरबार घेर्ने घोषणा गरेका छन् । ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ले सोमबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडितहरूको न्याय र लघुवित्तीय संस्थाहरू खारेज नगरे आन्दोलन थप शसक्त बन्दै जाने जनाएको छ ।

संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले कैलालीकी रेश्मा चौधरीलगायतका हजारौँलाई आत्महत्या र लाखौँलाई घरबारविहीन हुन बाध्य पार्ने लघुवित्तीय संस्थाहरू नेपाली समाजलाई विकृत बनाउन उद्यत रहेको आरोप लगाए । ज्ञवालीले देशभरि करिब ५८ लाख लघुवित्तका सदस्य र ३३ लाख ऋणी रहेकोले लघुवित्तहरू अराजकता रोक्न पीडितहरूको ऋण मिनाहा र लघुवित्तहरूलाई खारेज गर्नुको विकल्प नरहेको बताए । उनले लघुवित्तहरूको ज्यादतिविरुद्धमा उठेका पीडितहरूको समस्या समाधान गर्नेभन्दा नेपाल लघुवित्त बैंकर्स संघले उल्टै गृह प्रशासनको आडमा पीडित (बचत कर्ता) तथा ऋणीहरूलाई थप समस्यामा पार्ने गरेको बताए । अध्यक्ष ज्ञवालीले लघुवित्तहरूले एक लाखको ऋण दिँदा साँवाको १५ प्रतिशत ब्याज, ३ प्रतिशत सेवा तथा अन्य शुल्क, त्यही ऋणको १० हजार अग्रीम किस्ता काटेर बाँकी ८५ हजारसम्म मात्रै ऋण पाउने र १३औँ महिनामा किस्ता चुक्ता गर्दा करिब ३३ देखि ४० प्रतिशतसम्म चक्रिय ब्याज लिने गरेकोले पीडितहरू आत्महत्या गर्नसम्म बाध्य भएको बताए ।

नेपालको मुलुकी ऐन २०७४ परिच्छेद १५ को ४७८ को २ उपदफा १ बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी नहुने उल्लेख गरिए पनि राष्ट्र बैंकले सो कानुनी प्रावधान मिचेर १५ प्रतिशत ब्याजमा लगानी दिन स्वीकृति दिनुले राष्ट्र बैंकको पनि नियतमाथि प्रश्न उठेको पीडितहरूले बताए ।

पत्रकार सम्मेलनमा कैलाली जिल्लाको लम्किचुहा नगरपालिकाकी तारा बराल सिंखाडा, नुवाकोट किच्पाङकी चिरचोम तामाङ र तनहुँ गैरीगाउँकी अमृता थापा र बाराका साहिर पठानले आफूहरूजस्तै हजारौँ पीडितहरूले लघुवित्तको ज्यादतीको कारण आर्थिक मात्रै नभएर सामाजिक शोषणको अन्त्यका लागि लघुवित्तहरूको खारेजी र ऋण मिनाहाको आन्दोलनमा सबै एकजुट हुनुपर्ने बताए । पीडितहरूले लघुवित्तीय संस्थाहरूले चर्को मिटरब्याज लिनेगरेको मात्रै नभएर विनाबीमाको व्यावसायिक ऋण त्यो पनि अनुत्पादक क्षेत्रमा मुनाफाकेन्द्रित लगानीमा जोड दिनेगरेको आरोप लगाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x