Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकान्तिपुर सहकारीमा समस्या रकम फिर्ता लिनेको घुइँचो

कान्तिपुर सहकारीमा समस्या रकम फिर्ता लिनेको घुइँचो


काठमाडौं । व्यवस्थापनको बदमासीको कारण काठमाडौंको शान्तिनगरमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा समस्या देखिएको छ । चन्द्रबहादुर (सीबी) लामाले २४ वर्ष अध्यक्षताको गरेको २६ वर्ष पुरानो उक्त सहकारी काठमाडौंको पुरानोमध्येको एक हो । उक्त सहरीले मुद्दती खातामा राखेको पैसा सहकारीले फिर्ता नगरेको खबर सार्वजनिक भएसँगै सहकारीमा दिनहुँ पैसा जम्मा गर्नेहरु समेत जम्मा गर्न छोडेर निकाल्न लाइन लाग्नथालेका छन् ।

१८ वटा शाखा कार्यालयहरुबाट कारोबार गर्दै आएको कान्तिपुर सहकारीले निक्षेप फिर्ता लिनेको लामो लाइन लाग्न थालेपछि दैनिक प्रतिव्यक्ति १५ हजारको दरले मात्र फिर्ता गर्दै आएको छ । तर, निक्षेपकर्ताहरु भने त्यसमा सन्तुष्ट छैनन् । उनीहरु आफ्नो सबै नै पैसा निकाल्न चाहन्छन् ।

२०५३ सालमा स्थापना भएको कान्तिपुर सहकारी सुरुमा कान्तिपुर फाइनान्सको रुपमा सञ्चालनमा रहेको थियो । पछि नाम परिवर्तन गरेर सहकारी बनेको यस संस्थामा ३६ हजारसम्म सेयर सदस्य पुगेका थिए ।

तत्कालीन समयमा हिमालय फाइनान्समा सामान्य कर्मचारी रहेका चन्द्रबहादुर (सीबी) लामा कान्तिपुर सहकारीमा अध्यक्षको रुपमा आएका थिए । सुरुमा राजेन्द्र शाह सहकारीका अध्यक्ष र लामा प्रबन्धनिर्देशकको रुपमा कार्यरत रहे पनि लामाले विभिन्न तिकडम गरेर शाहलाई अध्यक्षबाट हटाई आफूले कार्यकारी अध्यक्षको रुपमा काम गर्न थालेका थिए ।

कान्तिपुर सहकारीमा रहँदा नै आफ्नो श्रीमतीको नाममा काठमाडौंकै जमलमा पशुपति सहकारीको नाममा अर्को समानान्तर सहकारी सञ्चालन गर्न थालेका लामाले कान्तिपुरमा सीबी लामा र पशुपतिमा चन्द्रबहादुर तामाङ बनेर काम गर्दै आएका थिए ।

समानान्तर सहकारी बनाएका लामाले स्थापित भइसकेको कान्तिपुर सहकारीका ग्राहक र निक्षेप पशुपतिमा डाइभर्ट गर्ने, कान्तिपुरमा सर्वसाधारणले जम्मा गरेको पैसाले आफ्नो घर, गाडीदेखि लिएर घरजग्गा, सेयर, होटल/रेष्टुरेण्टहरुमा अपार्दशी लगानी गर्ने गरेका थिए  ।

कान्तिपुरको नाममा पशुपति सहकारीको मार्केटिङ गर्ने गरेका लामालाई तत्कालीन समयका डिभिजन सहकारी काठमाडौंका प्रमुख केशव थापाले सम्पूर्ण सहकारीका गलत कामहरुमा सहयोग गर्ने गरेका थिए ।

लामाले सेयर नक्कली सेयर सदस्यदेखि हस्ताक्षर समेत गरेर त्यस्ताको नाममा आफैँले कारोबार समेत गर्ने गरेका थिए । सौखीन स्वभावका लामाले आफ्नो श्रीमतीलाई प्रमुख बनाएर सञ्चालन गरेको पशुपति सहकारीमा समेत कान्तिपुरमा गरेजस्तै सर्वसाधारणले जम्मा गरेको निक्षेप आफूखुसी प्रयोग गरेपछि पशुपति सहकारी डुब्ने निश्चित भएपछि सर्वसाधारणहरुलाई आफू कान्तिपुर सहकारीमा समेत अध्यक्ष नै रहेको र त्यताबाट मिलाएर दिने भन्दै आश्वासन दिन थालेका लामाले कान्तिपुर समेत डुब्ने लगभग निश्चित भएपछि दुई वर्षअगाडि कान्तिपुर समेत छोडेर लुकेर भाग्दै आएका छन् ।

तत्कालीन समयमा डिभिजन सहकारी काठमाडौंका प्रमुख थापाको संरक्षणमा अवैध कारोबार गरेका लामा यतिबेला भने कांग्रेस नेता शशांक कोइरालाको संरक्षणमा सर्वसाधारणहरुबाट लुक्दै हिँड्ने गरेका छन् ।

तीन वर्षदेखि पशुपति सहकारीमा पैसा फिर्ता लिन आउनेलाई दिन नसकेर भाग्दै हिँडेका लामाकै कारण पशुपति सहकारी डुबेको तीन वर्षपछि कान्तिपुरमा समेत सोही किसिमको समस्या आएको छ ।

पशुपतिको कारण लुक्दै हिँड्नुपरेको समयमा अझै ठूलो तथा पुरानो संस्था कान्तिपुर सहकारी समेत डुब्ने निश्चित भएपछि आफूलाई सर्वसाधारणले नछोड्ने भन्दै हिमालय विक्रम सिंह ठकुरीलाई संस्थाको अध्यक्षको जिम्मेवारी दिएर लामाले दुई वर्षअघि कान्तिपुर सहकारी छोडेका थिए ।

कान्तिपुरको सहकारीको प्रमुख लगानीमा काठमाडौंको तीनकुनेमा सञ्चालन रहेको कान्तिपुर अस्पताल मेरै हो भन्दै लामाले पशुपतिका निक्षेपकर्ताहरुलाई आफू यत्रो अस्पतालको मालिक भएकोले पैसा फिर्ता गर्ने भन्दै झुलाउँदै आएका छन् । तर स्रोतका अनुसार सामान्य लगानी मात्र रहेको लामाको सो अस्पतालमा समेत सहकारीकै जस्तो कारोबार गर्न थालेको भन्दै सेयर सदस्यहरुले कान्तिपुर अस्पतालको अध्यक्षबाट हटाउनेसम्मको अवस्था आउनलागेको छ ।

काठमाडौंकै राम्रोमध्येको एक सहकारीको रुपमा स्थापित भइसकेको कान्तिपुर सहकारीको पैसा दुरुपयोग गरेर अब समस्या आउने बेला भयो भन्दै नयाँ नेतृत्वलाई सहकारी जिम्मा लगाएर भागेका सीबी लामाकै कारण अहिलेको नेतृत्वलाई समस्या परेको छ ।

झण्डै साढे पाँच अर्ब निक्षेप रहेको सहकारीमा यतिबेला १५ हजार हाराहारीमा सेयर सदस्यहरु छन् । ५० करोड हाराहारीमात्र सञ्चित रहेको सहकारीमा पैसा झिक्ने सर्वसाधारणहरुको लाइन नै लागेपछि दैनिक कोटा सिस्टमबाट पैसा फिर्ता गरिरहेको सहकारीका अध्यक्ष ठकुरीले बताए ।

कानुनतः जम्मा भएको निक्षेपको १० देखि २० प्रशितसम्म निक्षेप व्यवस्था गर्नुपर्ने भए पनि सहकारी संस्थाहरुले त्यसलाई पालना नगरेका कारणले पनि यतिबेला राम्रा भनिएका कान्तिपुरलगायतका पुराना सहकारीहरुमा समस्या बढ्दै गएको छ भने सहकारीका सञ्चालकहरु सहकारीमा जम्मा भएको निक्षेपसहित फरार हुने क्रम बढेको कारण पनि सर्वसाधारणहरुमा त्रास बढ्दै गएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x