Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीको आन्दोलन तुहियो

सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीको आन्दोलन तुहियो

करिडोरका डन्डी उद्योगीद्वारा धमाधम एमएस ब्लेडको आयात सुरु


विराटनगर । एकातिर सरकारलाई आन्दोलनको दबाबमा राख्ने र अर्कातिर उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आयातलाई निरन्तरता दिँदै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले आफ्नो निहित स्वार्थ पूरा गर्नेगरेको पाइएको छ ।

करिडोरका उद्योगी तथा व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले निश्चित व्यवसायी घरानालाई फाइदा पुग्ने गरी भन्सार दरबन्दीको समेत हेरफेर गरेको भन्दै आन्दोलन गर्दै आएका थिए । उक्त उद्योगी समूहले नै आर्थिक विधेयक २०७९/२०८० ले विशेषगरी डन्डी उद्योगलाई मर्कामा पारेको बताउँदै करिडोरका उद्योगीले सडक आन्दोलन नै गर्दै आएका थिए । तर तिनै उद्योगीले यही भदौ ९ गते अर्थात् अगस्त २५ तारिखका दिन भारतको कोलकातास्थित बन्दरगाहामा १२ हजार मेट्रिक टन एमएस ब्लेड आयात गरेको रहस्य खुलेको छ । उद्योगीको आन्दोलन अब कता जाने भन्दै करिडोरका अन्य उद्योगीहरूले प्रतिप्रश्न समेत गरेका छन् । करिडोरमा डन्डी उत्पादन गर्दै आएका उद्योगीले डन्डी बनाउनका लागि प्रयोग गर्ने एमएस ब्लेड अब एक/दुई दिनभित्रै विराटनगर भन्सार नाका भएर नेपाल आउने निश्चित भएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा डन्डी उत्पादन कमला रोलिङ, हुलास वायर, आरती स्ट्रिप्स, पशुपति आइरन र प्रिमियर वायरले डन्डी उत्पादन गर्न एमएस ब्लेडको प्रयोग गर्दै आएका छन् । यही उद्योगीको समूहले नै फेरि आगामी भदौ २८ गते अर्थात् सेप्टेम्बर १३ तारिखका दिन कोलकाता बन्दरगाहमा आइपुग्ने गरी २६ हजार मेट्रिक टन एमएस ब्लेडको एलसी प्रक्रिया मिलाएर खरिद सम्झौता नै गरिसकेका छन् । करिडोरमा सञ्चालन हुँदै आएका डन्डी उद्योगहरूमा गोल्छा समूह, मुरारका समूह, सारडा ग्रुप र विशाल ग्रुपको वर्चस्व रहेको छ ।

व्यापारिक एवं सामाजिक संघसंस्थाको ब्यानर बोकेर आन्दोलनमा उत्रिएका उद्योगीहरूले आफ्नो निहित स्वार्थ पूरा गराउनका लागि नै आन्दोलनको साहारा लिएको करिडोरका उद्योगीहरूले बताउन थालेका छन् । यसले व्यावसायिक एवं सामाजिक संस्थाको साख समेत गिर्न पुगेको उनीहरूको भनाइ छ । आन्दोलनको घोषणा गर्दा उद्योगीहरूले अर्थमन्त्रीले आर्थिक विद्येयक सच्चाउनेतर्फ कुनै पहल नगरे सडक आन्दोल र अनिश्चित समयसम्म चक्काजाम गर्ने बताएका थिए । तर उद्योगीहरूले पछिल्लो समय गोप्यरूपमा आ–आफनो उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात गरेर आन्दोलनलाई बीच बाटोमा नै छोडेका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक विधेयकले जीआई वायर, वनस्पती घ्यू, तेल, सेनिटेरी प्याड तथा यार्न उत्पादनका उद्योगीहरूलाई मर्का परेर बन्द गर्ने अवस्था सिर्जना भएको भन्दै संयुक्तरूपमा आन्दोलन गर्दै आएका थिए । उनीहरूले अर्थमन्त्री जनार्दन शर्माले छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकारलाई अगाडि सारेको गम्भीर आरोप पनि लगाएका थिए । अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरूले समेत त्रुटि सच्याउने विषयमा छलकपट गरेको जस्ता गम्भीर आरोप लगाउँदै आन्दोलनको आँधिबेरी ल्याउने घोषणा नै गरेका थिए ।

पछिल्लो समय अन्य उद्योगको समस्या त्यसै छोडेर आ–आफ्नो स्वार्थको अनुकुल व्यवसाय चलाउने करिडोरका उद्योगीले एमएस ब्लेड आयात गरेको सार्वजनिक भएपछि अवको आन्दोलन के भनी प्रश्न उठेको छ । यहाँका मुरारका, सारडा, गोल्छा समूह र विशाल ग्रुप हावी हुँदा उद्योगीको आन्दोलन नै तुहिएको अन्य उद्योगीले बताउन थालेका छन् । करिडोरका केही सीमित औद्योगिक घरानाका उद्योगीले सामाजिक एवं व्यावसायिक संघसंस्थाको आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नाले उद्योग संगठन, व्यापार संघ र उद्योग परिसंघ प्रदेश १ को समेत साख गिर्न पुगेको आरोप करिडोरका अन्य उद्योगीले लगाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x