Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच विद्युतीय सवारी चार्जिङस्टेसन निर्माण गर्न सम्झौता

विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच विद्युतीय सवारी चार्जिङस्टेसन निर्माण गर्न सम्झौता


काठमाडौं । विद्युतीय सवारी चार्जिङस्टेसन निर्माण तथा सञ्चालन गर्नको लागि नेपाल विद्युत् प्राधिकरणले सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता गरेको छ । गैरनवीकरणीय ऊर्जा घटाई नवीकरणीय ऊर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्राधिकरण र सशस्त्र प्रहरीबीच विद्युतीय सवारी चार्जिङस्टेसन निर्माण तथा सञ्चालनका साथै सशस्त्र प्रहरी बलका विभिन्न इकाइहरूमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पु-याउनेसम्बन्धी सम्झौता भएको हो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्यासको खपत घटाउँदै विद्युत् उपयोगलाई बढाउँदै लैजाने लक्ष्यअनुरूप प्राधिकरणले काम गरिरहेको बताए । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने उल्लेख गरे ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित दुईवटा पेट्रोलपम्प तथा अन्य उपयुक्त स्थानहरूमा गरी कुल १७ स्थानमा चार्जिङस्टेसन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङस्टेसन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत् प्राधिकरणले व्यहोर्नेछ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्महरूको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग प्रमुख श्रीराम पोख्रेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायदत्त पौडेल र चन्द्र प्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरू तथा नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x