वामदेव अस्त्र अन्योलमा,अर्थमन्त्रीबाट खतिवडालाई विस्थापित गर्ने व्यापारिक योजना धरापमा
काठमाण्डौं,फागुन १५
प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडालाई एकैपटक वा क्रमशः विस्थापित गर्नका लागि अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका सचिवालयका सदस्यहरु बर्दियाबाट गत निर्वाचनमा पराजित वामदेव गौतमलाई उचालिरहेका छन् । राष्ट्रियसभाको निर्वाचन हुने बेलासम्म राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने प्रावधान संविधानमा नराखेसम्म राष्ट्रियसभा सदस्य बन्नका लागि निर्वाचन लड्दिन भनेका गौतम बुधबारसम्म आइपुग्दा संविधान नै संशोधन नभए पनि राष्ट्रियसभा सदस्यमा मनोनीत हुन राजी भए । बुधबार नेकपा सचिवालयको बैठकमा प्रचण्डले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न सरकारले निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ प्रस्ताव लैजानुपर्ने राय राखे । प्रधानमन्त्री ओली मौन रहे पनि अरु नेताहरुले सहमति जनाए । सहमति जनाएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा मनोनीत कोटामा लैजाने विषयमा पार्टीले निर्णय गरेको जानकारी सञ्चारमाध्यमलाई दिए ।
उक्त समाचार सार्वजनिक भएको केही समयपछि नै त्यसमा प्रधानमन्त्री असहमत रहेको कुरा बाहिर आयो । स्थिर सरकारको पक्षधर भनेर प्रचार गरिएका प्रचण्ड जसरी पनि ओलीलाई विस्थापित गर्न चाहन्छन् । उनले केही समयअगाडि आलोपालो प्रधानमन्त्री बन्ने भन्ने पुरानो सहमति सञ्चारमाध्यममा सार्वजनिक गरेका थिए । तर, त्यसमा असफल भएपछि प्रचण्डले गौतम अस्त्र प्रहार गरेका छन् । गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानमन्त्री बनाउने । प्रधानमन्त्री ओली किड्नी रोप्नका लागि पाँच÷छ महिना अस्पतालमा बस्नुपर्ने भएपछि गौतमलाई कार्यवाहक प्रधानमन्त्री दिलाउने र ओलीलाई क्रमशः आउट गर्ने । गौतमलाई राष्ट्रियसभामा लागेपछि हालका अर्थमन्त्री डा. युवराज खतिवडा पनि बढीमा छ महिनापछि मन्त्रीबाट आउट हुनेछन् । किनकि खतिवडाको कोटामा गौतम मनोनीत भएपछि गैरसांसद छ महिनाभन्दा बढी समय मन्त्री पदमा बस्न नपाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा विस्थापित हुनेछन् । अर्थमन्त्रीबाट डा. युवराज खतिवडालाई विस्थापित गर्ने प्रयास सुरुदेखि नै भएको थियो । सुरुमै खतिवडालाई अर्थमन्त्री बनाउनहुँदैन भन्नेहरुको ‘लबिङ’ नै थियो ।
तर नसकेपछि त्यो ग्रुप विभिन्न बहाना बनाएर राजनीतिक दलका नेताहरुको सहारा खोज्दै हिंडेर खतिवडालाई अर्थमन्त्रीबाट विस्थापित गराउन सक्रिय छ । भ्याट छली गर्न नपाएका र भ्याट फिर्ता लिन नपाएकाहरु खतिवडाको विरोधमा सुरुदेखि नै छन् । उत्पादनमूलकभन्दा पनि दलाली अर्थतन्त्रबाट रातारात धनी बन्न चाहनेहरुका लागि खतिवडा बाधक छन् । त्यही भएर उनीहरुले सेयरबजार लगायतका सहारा पनि लिए । भ्याट फिर्ताको नाटक अर्थमन्त्री भएपछि खतिवडाले रोकिदिएपछि व्यापारीहरुको निद्रा हराएको छ । अन्तिम उपभोक्ताबाट उठाएको भ्याट घुमाउरो तरिकाले व्यापारीहरुलाई नै फिर्ता गर्ने चलनलाई खतिवडाले रोकेर राज्यकोषमा जम्मा हुने व्यवस्था गरेपछि यसले व्यापारी वर्गलाई तनाव सिर्जना गराएको छ । उनले पुँजीगत खर्च बढाउन सक्रिय भूमिका निर्वाह गर्न नसके पनि उत्पादनमूलक अर्थतन्त्रको आधार स्थापनाको प्रयास गरे । यद्यपि त्यो आधार अहिलेसम्म खडा भइसकेको छैन । तर, प्रयास भने जारी राखेका छन् । करको दायरालाई फराकिलो पार्ने प्रयास जारी राखेका छन् । आगामी आर्थिक वर्षको बजेटमा करका दरहरुभन्दा पनि करका दायरा फराकिलो पार्ने संकेत सरकारले गरिसकेको छ । धेरै वस्तुमा कर लाग्ने भयो भनेर अर्को पक्ष अहिलेदेखि नै खतिवडाविरुद्ध छ । व्यक्तिगत प्यान नम्बर वैज्ञानिक भए पनि त्यसलाई खारेज गराउन ठूलो डिजाइन गरिएको छ ।
अर्थतन्त्रमा अपेक्षा गरेअनुसारको सुधार गर्न नसके पनि सुधारका संकेतहरु देखिएपछि दलाल अर्थतन्त्रका पक्षधरहरु तिलमिलाएका छन् । तीन सयमा किनेको सेयरको मूल्य नौ सय नभएपछि उनीहरुले खतिवडालाई दोष दिएका छन् । किनकि वास्तविक अर्थतन्त्र भएपछि मूल्य पनि वास्तविक नै हुन्छ । तर, समग्र अर्थतन्त्रलाई आफ्नो हितका लागि प्रयोग गर्न पल्केकाहरुले वामदेवलाई राम्रैसँग आफ्नो पक्षमा पारेका छन् । उनीहरुले प्रचण्डलाई त सुरुदेखि नै लगानी गरेका छन् नै । फेरि पछि बहुमत आउने हो वा होइन अहिले नै एकपटक प्रधानमन्त्री बन्ने सपना प्रचण्डको छ । तर, सिधै आफूलाई प्रधानमन्त्री बन्नका लागि निर्णय हुन नसकेपछि प्रचण्डले घुमाउरो तरिकाले वामदेव अस्त्र प्रयोग गरेका हुन् । यसले ओली र खतिवडा दुवैको क्रमशः प्रधानमन्त्री र अर्थमन्त्री पदको शिकार गर्न सकिन्न भन्ने निष्कर्षमा प्रचण्ड पुगेका छन् । तर, ओलीले युवराजको ठाउँमा गौतमलाई ल्याउन नसकिने आफू निकटका नेताहरुलाई जनाउ दिइसकेपछि परिस्थिति मोडिन पुगेको छ । खतिवडालाई अर्थमन्त्रीबाट हटाउने व्यापारीका योजनाहरु असफल हुने संकेत देखिएको छ । ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेनन् भने व्यापारी मात्र होइन, प्रचण्ड पनि राजनीतिक रुपमा फेरि एक पटकका लागि असफल हुने देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया