Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘साना उद्योग जोगाउन सके मात्रै औद्योगीकरणको जग’

‘साना उद्योग जोगाउन सके मात्रै औद्योगीकरणको जग’


काठमाडौं । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउनसके मात्रै औद्योगीकरणको जग बलियो हुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री महतोले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएको भन्दै यस्ता उद्योगको प्रवर्द्धनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्ध बन्ने बताए । स्थानीय मौलिक उद्योगका उत्पादनलाई बढावा दिने र बढ्दो आयातलाई न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकताको विषय भएको उनको भनाइ थियो । गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन कसरी गर्न सकिन्छ भन्नेबारे उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुबाट पनि अध्ययन आवश्यक भएको उनले बताए । साना उद्योगीका हरेक समस्यालाई बुझेर औद्योगीकरणमा लैजाने सरकारको प्राथमिकता भएको भन्दै उनले साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्ने बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले वि.सं. २०४७ सालदेखि नै साना तथा घरेलु उद्योगीहरुको लागि पैरवी गर्दै आएको बताउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोग बढाउनुपर्छ भनेर निरन्तर सरकारलाई दबाब दिइरहेको उल्लेख गरे । नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्वाहकका रुपमा रहे पनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच र वित्तीय पहुँच रहेको उनको भनाइ छ । स्वदेशी वस्तुको प्रवर्द्धन र बजारीकरण गर्नका लागि मधेश प्रदेशमा निर्यातगृह र बिक्री कक्ष सञ्चालनमा ल्याउन पनि उनले मन्त्री महतोको ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घरघरमै उद्योग भएको मधेश प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योग ग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । ‘त्यहाँ बजारीकरणको समस्या भएको व्यवसायीको गुनासो छ । भोलिका दिनमा व्यवसायमा पुस्ता हस्तान्तरण गर्न आवश्यक छ । कम्तीमा जिल्ला–जिल्लामा बिक्री कक्ष राख्ने र औद्योगिक प्रदर्शनी आयोजना गर्ने विषयलाई मधेश प्रदेशले प्राथमिकता दिनुप-यो’, उनले भने ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरु हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापती, शोभा गुरुङ तथा सदस्य वीरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले आ–आफ्ना धाराना राखेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x