Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदशैँमा नयाँ गाडी चढ्ने सपनामा ‘ब्रेक’

दशैँमा नयाँ गाडी चढ्ने सपनामा ‘ब्रेक’

तास, चुरोट, लेज, कुरकुरे, हिरा र टिभी आयात भने खुला


काठमाडौं । यस वर्षको दशैैँमा नयाँ गाडी र मोटरसाइकल खरिद गर्ने र बिक्री गर्ने क्रमशः उपभोक्ता र व्यवसायीको सपनामा सरकारले ‘ब्रेक’ लगाइदिएको छ । अर्थात् गत वैशाख १३ गतेदेखि ती वस्तुमा लगाउँदै आएको प्रतिबन्धलाई सरकारले आउँदो असोज २८ गतेसम्मका लागि निरन्तरता दिएको छ । उक्त प्रतिबन्ध भदौ १४ गते मंगलबारसम्म कायम रहेकामा असोज २८ गतेसम्मका लागि लम्ब्याएको हो ।

एम्बुलेन्स र शववाहनबाहेकका जिप, कार र भ्यानहरु आयातमा सरकारले यसअघि जारी गरेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । गाडी आयात गर्दा डलर बाहिरिने भएको कारण सरकारले ती महंगा वस्तु आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । साथै १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा लगाइएको प्रतिबन्ध पनि जारी नै राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी असोज २८ गतेसम्मका लागि कायम गरिएको जनाएको छ । ती वस्तुको आयात प्रतिबन्ध लगाएको कारण स्टकबाहेक बाहिरबाट ल्याएर बिक्री गर्न पाइनेछैन । व्यापारीले आफूसँग भएको स्टक बिक्री गर्न भने कुनै प्रतिबन्ध लाग्नेछैन ।

सरकारले गाडी र मोटरसाइकलका साथै तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोनहरु मदिरा आयातलाई पनि असोज २८ गतेसम्मका लागि प्रतिबन्ध नै लगाएको छ । यद्यपि मानव स्वास्थ्यलाई हानि पु-याउने कुरकुरे, लेज, चुरोटजस्ता वस्तु आयात भने खुला गरिदिएको छ । कुरकुरे, लेज, चुरोटजस्ता वस्तुमा पनि नेपालीले मासिक करोडौँ रुपैयाँ खर्च गर्ने गर्छन् । त्यस्तै, तास, टिभी, खेलौना र हिरा आयातलाई पनि खुला गरिदिएको छ ।

गाडी र मोटरसाइकल आयातमा सरकारले प्रतिबन्ध हटाएको थियो भने यही दशैँमा अर्बौँ रुपैयाँको कारोबार हुने थियो । आफ्नो व्यवसाय डुब्न लागेको भन्दै गाडीको व्यापार गर्नेहरुले प्रतिबन्ध फुकुवा गर्न लबिङ्गलाई तीव्रता दिए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक भएको कारण प्रतिबन्ध खुल्न नसकेको हो ।

नेपाल राष्ट्र बैंकले गाडीको प्रतिबन्ध तत्काल खोल्दा अर्थतन्त्रमा गम्भीर संकट आउनेतर्फ प्रधानमन्त्री देउवालाई सचेत गराउँदै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू भने गाडी आयात खुला गर्ने पक्षमा थिए । निर्वाचन आएको बेला गाडी र मोटरसाइकल धेरै बिक्री हुने अपेक्षा गर्दै गाडी व्यापारीहरुले त्यसमाथि लागेको आयात प्रतिबन्ध खुलाउन निकै दौडधूप गरेका थिए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतका उच्च अधिकारीहरु भने अर्थतन्त्र जोगाउने हो भने त्यस्ता महंगा वस्तुको आयात तत्काल खुलाउन नहुने पक्षमा छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x