Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशुल्कबाटै १ खर्ब ७७ अर्ब आर्जन

शुल्कबाटै १ खर्ब ७७ अर्ब आर्जन


काठमाडौं । कुल बीमा शुल्क संकलनमा १६ प्रतिशतले वृद्धि भएको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल जीवन बीमालेख ५२ प्रतिशतले, कुल निर्जीवन बीमालेख दुई प्रतिशतले र कुल बीमाशुल्क संकलन १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

समितिका अनुसार बीमा क्षेत्रको विकास एवम् विस्तार भएसँगै बीमकका शाखा कार्यालयहरू समेत बढ्दै गएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको शाखा कार्यालयको सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ७६ प्रतिशत बढेर तीन हजार तीन सय ६६ पुगेको छ भने बीमा क्षेत्रको रोजगारी १० दशममलव ३१ प्रतिशतले बढेर ११ हजार आठ सय ६१ पुगेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा बीमाको योगदान तीन दशमलव ६६ प्रतिशत र कुल बीमाशुल्क आर्जन एक खर्ब ७७ अर्ब रुपैयाँ पुगेको समितिको भनाइ छ । यस अवधिमा बीमा सर्भेयरको संख्या एक हजार दुई सय ४० र सक्रिय बीमा अभिकर्ताहरुको संख्या करिब दुई लाख छ ।

समितिका अनुसार कुल जनसंख्याको ४१ प्रतिशतभन्दा बढी जनता बीमाको दायरामा रहेका छन् । नेपाल सरकार, बीमा समिति, बीमा कम्पनी, अन्य सरोकारवाला निकायहरू र सञ्चारजगत्को सामूहिक प्रयासबाट हाल बीमा व्यवसाय विकसित, व्यवस्थित, अनुशासित र विस्तारित हुँदै गएको र सोही आधारमा बीमाको पहुँच विस्तार भएको समितिको भनाइ छ । यसमा म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत समावेश गरिएको छ । सरकारले गत आर्थिक वर्षमा एक तिहाइ जनतालाई बीमाको दायरामा ल्याउने लक्ष्य राखेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा लक्ष्यभन्दा पनि बढी प्रगति भएको र समितिबाट भएका नीतिगत एवम् कानुनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै उल्लेख्यरूपले बढ्ने अपेक्षा समितिले गरेको छ ।

समितिले गत आर्थिक वर्षमा बीमा कम्पनीहरूमा सुशासन कायम गर्न, खर्च घटाउन, बीमितको हित कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न र बीमा दाबी समयमा नै भुक्तानी पाउने सुनिश्चित गर्न तथा बीमा कम्पनीहरूलाई साधन, स्रोत र सेवा प्रवाहका दृष्टिले सशक्त र सबल बनाउन बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको जनाएको छ । पुँजीवृद्धिका लागि बीमा कम्पनीहरू एकअर्कामा गाभ्ने, गाभिने र प्राप्ति (मर्जर) गर्न सकिने विकल्प समेत समितिले दिएको छ । साथै मर्जरमा जाने कम्पनीहरुका लागि विभिन्न छुट तथा सहुलियतका सुविधाहरुको समेत व्यवस्था गरिएको छ । सोहीअनुसार दुईवटा बीमा कम्पनीहरू मर्ज भई यही २०७९ साउनदेखि नै संयुक्त कारोबार शुभारम्भ गरिसकेका छन् भने अन्य १७ वटा कम्पनीहरूलाई मर्जरका लागि समितिले सैद्धान्तिक स्वीकृति दिइसकेको समितिले जानकारी दिएको छ ।

समितिले गत आर्थिक वर्षलाई बीमा दाबी भुक्तानीको वर्षका रूपमा मनाउने निर्णय गरेको थियो । सोहीअनुरुप समितिबाट भएका नियमित अनुगमन र निर्देशनको फलस्वरुप दाबी भुक्तानीमा पनि उल्लेख्य सुधार भएको समितिको भनाइ छ ।

आर्थिक वर्ष २०७७/०७८ मा जीवन बीमातर्फ ३३ अर्ब दाबी भुक्तानी भएकोमा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ मा ४४ अर्ब ६० करोड तथा निर्जीवन बीमातर्फ आर्थिक वर्ष २०७७/०७८ मा १७ अर्ब ४९ करोड भुक्तानी भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा १८ अर्ब ८२ करोड दाबी भुक्तानी भएको छ । साथै, बीमादाबीसम्बन्धी विवादको निरूपण गर्ने क्रममा यस अवधिमा बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट समेत गरी विभिन्न एक सय ५३ वटा उजुरी किनारा लगाइएको जानकारी पनि समितिले दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x