Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइच्छाराज तामाङसहित परिवारको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर

इच्छाराज तामाङसहित परिवारको सम्पत्ति जफत गर्न माग गर्दै मुद्दा दायर


काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलगायतका परिवारका सदस्यहरुको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

तामाङ तथा उनको परिवारले आर्जन गरेको सम्पत्ति गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको अनुसन्धानले ठहर छ ।

विभागले तामाङसँग तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तामाङको एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता सेयर पनि जफत गर्न माग गरिएको छ । तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको छ ।

उनको एउटा सवारीसाधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ । यस्तै, प्रतिवादीहरू प्रतीक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग एक करोड ८९ लाख १८ हजार छ सय ४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ ।

विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका सात कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ । इच्छाराजले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । अनुसन्धान गरी उनीलगायतले पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको थियो । अनुसन्धान पूरा गरेर सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x