Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभैरहवा सेजको ‘प्लट’ मागमा वृद्धि

भैरहवा सेजको ‘प्लट’ मागमा वृद्धि


काठमाडौं । भैरहवा सेजमा उद्योग स्थापनाका लागि प्लट मागको संख्या बढेको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवा सेजमा उद्योग स्थापना गर्न इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्ने भनी सूचना प्रकाशन गरेसँगै प्लट माग गर्नेको संख्या वृद्धि भएको हो । भैरहवा सेजमा उद्योग स्थापना गर्न चाहने लगानीकर्ताहरुले २६ उद्योग स्थापनाका लागि ५५ वटा प्लट माग गरेका छन् । तीन हजार पाँच सय जनालाई रोजगारी दिने उद्देश्यका साथ लगानीकर्ताहरुले ५५ प्लट माग गरेका हुन् । यता प्राधिकरणले भने ५० वटा प्लटका लागि निवेदन माग गरेको सेजका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले जानकारी दिए । आवेदन माग गरेसँगै लगानीकर्ताहरुको सेजप्रति आकर्षण बढेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ । आवेदन दर्ता गराउने उद्योगहरुमा विद्युतीय उत्पादन, विद्युतीय स्कुटर एसेम्बल, गार्मेन्ट, प्लाष्टिक सामग्री उत्पादन गर्ने रहेका छन् ।

यस्तै, ६८ वटा प्लटमा उद्योग स्थापना गर्ने भन्दै लगानीकर्ताहरुसँग सम्झौता भएको छ । हाल सातवटा उद्योगहरु सेजमा सञ्चालनमा छन् । नयाँ उद्योगहरुले स्थापना गर्न लगानीकर्ताहरु इच्छुक देखिएसँगै पूर्वाधारहरुको विकास गर्नुपर्ने दायित्व प्राधिकरणमाथि थपिएको छ । प्राधिकरणले भैरहवा सेजमा उद्योग स्थापना गर्न गत साउन ३ गते र त्यसअघि फागुन २५ गते आवेदन दिनसक्ने भन्दै सार्वजनिक सूचना निकालेको थियो । पहिलो सूचनामा ४५ वटा प्लट र दोस्रो सूचनमा २ प्लट ‘एफ वान र एफ फाइभ’ रहेको जनाएको थियो ।

यसैबीच सेजमा मुख्य समस्याको रुपमा भनेको लगानीकर्ताहरु इच्छुक भए पनि उद्योग स्थापना गर्दैनन् । धेरैजसो लगानीकर्ताहरु सरकारले लगाएको निर्यात सीमाका कारण आवेदन दिए पनि उद्योग आउन नसकेको बताइन्छ । यसअघि आर्थिक दैनिकसँगको कुराकानीको क्रममा कार्यकारी निर्देशक भट्टले सेज स्थापना भइसकेको लामो समय भइसक्दा प्लट भरिएर उद्योग सञ्चालन हुनसकेको अवस्था नभएको भन्दै आवेदन पर्दैमा उत्साहित हुन नहुने बताएका थिए । उद्योगलाई आवश्यक कच्चापदार्थ मुलुकमा पाइँदैन । अधिकांशजसो विदेशबाट कच्चा पदार्थ ल्याई त्यसलाई प्रशोधित गरेर निर्यात गर्नुपर्ने अवस्था छ । त्यसैले सेजमा उत्पादित सामग्री निर्यात गर्न उद्योगलाई कठिन हुनसक्ने उनको भनाइ थियो ।

विशेष आर्थिक क्षेत्र–पहिलो संशोधन ऐन–२०७५ मा विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगबाट उत्पादन गरेको कम्तीमा ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ । जुन नियमलाई लिएर लगानीकर्ताहरु सेजभित्र आउन इच्छुक देखिँदैनन् । यसअघि भने ७५ प्रतिशत निर्यात बाध्यकारी थियो । सेज सञ्चालनको सुरुवाती अवस्थामा पहिलो एक वर्ष निर्यात छुट गरिएको हाल एक वर्ष थप गरी दुई वर्षसम्म शून्य निर्यात प्रावधान राखिएको छ । उद्योग स्थापनाको तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ४० प्रतिशत र पाँचौँ वर्ष ६० प्रतिशत निर्यात प्रावधानको व्यवस्था गरिएको छ । कच्चापदार्थ आयात गरी प्रशोधन गरी तयारी सामग्री निर्यात गर्नुपर्ने दायित्वले गर्दा लगानीकर्ताहरुमा लगानीको उत्साह रहेको पाइँदैन ।

कच्चापदार्थ मुलुकमा नपाउनु आयात गर्ने झन्झटिलो प्रक्रिया लगायतका कारण सेज सफल हुन नसकेको व्यवसायीहरुले भनाइ राख्दै आएका छन् । जसले गर्दा सम्भाव्यता अध्ययन भएको करिब २१ वर्ष हुँदा समेत सेजले सफलता पाउनसकेको छैन ।

रुपन्देहीको रोहिणी गाउँपालिका–१, बगहास्थित रहेको भैरहवा सेज गत आर्थिक वर्षसम्म ट्रान्सफर्मरको समस्याले जकडिएको थियो तर हाल भने सम्पूर्ण पूर्वाधार निर्माण हुँदा समेत उद्योग स्थापना हुनसकेको छैन । तर प्लटहरुको मागवृद्धि भने सकारात्मक छ । मुलुकको व्यापारघाटालाई कम गर्न निर्यातलाई बढावा दिन स्थापना गरिएको सेजमा सेज ऐन संशोधन गर्दै लगानीकर्तालाई सहुलियत प्रदान गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।

सोही क्रममा पछिल्लो समय सेजमा स्थापित उद्योग सञ्चालनमा आएको मितिले एक वर्षभित्र त्यस्तो उद्योगबाट उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । नेपालको आन्तरिक बजारमा वस्तु वा सेवाको बिक्री गर्ने अनमतिपत्रवालालाई त्यस्तो वस्तु वा सेवा बिक्री गरेको परिमाणको हदसम्म यस ऐनबमोजिमको कर छुट तथा सुविधा प्रदान नगर्ने व्यवस्था गरिएको छ ।

एक हजार चार सय वर्गमिटरदेखि तीन हजार सात सय वर्ग मिटरका प्लटहरु रहेको सेजमा हाल भूबहाल २० रुपैयाँ प्रतिमहिना प्रतिवर्गमिटर रहेको छ । भूबहाल अवधिका बढीमा ३० वर्ष छ । प्राधिकारणले सेजमा आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्म, धर्मकाँटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमालगायतका सेवा उपलब्ध गराउँछ ।

यता, गत साउन ३ गते भैरहवाका साथै सिमरा सेजका ‘ए ब्लक’मा ११ वटा प्लटका लागि आवेदन माग गरिएको थियो । सिमरा सेजका प्लटहरुमा समेत आवेदन परेको प्राधिकरणले जनाएको छ । सेजमा करिब एक दर्जन आवेदन परेका छन् । यो दोस्रो पटक आवेदन माग गरिएको हो । यसअघि ब्लक ‘ए’भित्रका ६८ वटा प्लटका लागि आवेदन माग गरिएको थियो । मुलुकभर १४ वटा सेज स्थापना गर्ने बताए पनि सरकारको प्राथमिकतामा भैरहवा, सिमरा र पाँचखालबाहेक अन्य सेजको विकास गर्नसकेको छैन । भैरहवा र सिमरा सेज पूर्णतया विकास छ भने पाँचखाल निर्माणाधीन अवस्थामा छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x