Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहोमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्थानीय समुदायको आर्थिक विकासका लागि स्थानीय घरवास (होमस्टे) लाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय जीवनशैली, संस्कृति तथा कलाको प्रवर्द्धन गर्न समेत होमस्टेले सहयोग पु-याउने उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नागार्जुन नगरपालिकामा आयोजना गरेको होमस्टे सञ्चालन तालिम उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको विकास गर्न ग्रामीण क्षेत्रसँगै सहरी क्षेत्रमा समेत होमस्टे सञ्चालन गर्न सकिने बताए । स्थानीय समाज, रहनसहन, संस्कृति र बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न चाहने पर्यटकको रोजाइमा होमस्टे पर्ने भएकोले सहरी क्षेत्रमा समेत यसको सम्भावना रहेको उनको भनाइ छ । सहरी क्षेत्रमा रहेका घरहरुमा आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवाबापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिने उनले बताए । पर्यटकीय सम्भावना भएका गाउँ–सहरको पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए । आफ्ना पाहुनालाई आतिथ्य गर्न घरघरमा रहेका खाली कोठालाई व्यवस्थापन गरी आर्थिक उपार्जन गर्न सकिने उनको भनाइ छ ।

नागार्जुन नगरपालिकाको शरणपुर क्षेत्र पर्यटकीय सम्भावनायुक्त क्षेत्र भएकोले सो क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको सम्भावना उजागर गर्न होमस्टे तालिम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता महेश रिमालले नागार्जुन क्षेत्रमा होमस्टे सञ्चालनका लागि तयारी गरिएको जानकारी दिँदै स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि होमस्टेलाई प्राथमिकता दिएको बताए । शरणपुर नमूना बस्ती विकास समितिका अध्यक्ष तुलसी थापाले स्थानीय पर्यटन प्रवर्द्धनमा होमस्टेले सघाउ पु-याउने बताए । तालिममा अतिथि सत्कार, बजारीकरण, व्यवस्थापन र खाना बनाउन सिकाउनुका साथै होमस्टे सञ्चालनसम्बन्धी कानुनी तथा अन्य व्यवस्थाहरुबारे प्रशिक्षकहरुले तालिम दिनेछन् । तालिममा ३५ जना स्थानीय बासिन्दा सहभागी छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x