Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविलासी वस्तुको आयात प्रतिबन्धले अर्थतन्त्रमा सुधार

विलासी वस्तुको आयात प्रतिबन्धले अर्थतन्त्रमा सुधार


काठमाडौं । सरकारले व्यापारघाटा बढ्द विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि विलासिताका वस्तु तथा सेवाको आयातमा लगायतको प्रतिबन्धको सकारात्मक असर अर्थतन्त्रमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको पहिलो महिनाको प्रतिवेदनअनुसार अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएका हुन् । यस अवधिमा आयातको उच्च वृद्धिदर घट्दो क्रममा रहेको छ भने निर्यातमा सुधार देखिएको छ । वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स रकम पनि पछिल्लो समय बढेको छ । यसको सकारात्मक असर मुलुकको विदेशी मुद्राको सञ्चितिमा परेको छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा देखिनुले पनि अर्थतन्त्रमा सुधार संकेत देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु निर्यात २८ दशमलव सात प्रतिशतले घटेर १४ अर्ब ८१ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३६ दशमलव पाँच प्रतिशत र २४ दशमलव चार प्रतिशतले घटे पनि अन्य मुलुकतर्फको निर्यात पाँच दशमलव सात प्रतिशतले बढेको छ । यस अवधिमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधि (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेकोमा सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात भने घटेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको पहिलो महिनामा कुल वस्तु आयात भने १२ दशमलव नौ प्रतिशतले घटेर एक खर्ब ३१ अर्ब २९ करोडमा खुम्चिएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव एक प्रतिशत, १० दशमलव पाँच प्रतिशत र १५ दशमलव नौ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधि, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको भएपनि सरकारले आयातमा प्रतिबन्ध लगाएकै कारण सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, एमएस बिलेट, दूरसञ्चार उपकरण तथा पार्टस्, कच्चा सोयाबिन तेल, हट रोल्ड शिट इन क्वाइललगायतका वस्तुको आयात भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा १० दशमलव चार प्रतिशतले घटेर एक खर्ब १६ अर्ब ४८ करोड रुपैयाँमा सीमित हुनपुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव छ प्रतिशतले बढेको थियो । चालू आवको पहिलो महिनामा निर्यात–आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव आठ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोडबराबरको भएको थियो, राष्ट्र बैंकले भनेको छ ।

चालू खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा मुलुकको चालू खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा पुँजीगत ट्रान्सफर १७ दशमलव सात प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४० करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड छ लाख रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १७ करोड ७७ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ ।

रेमिट्यान्समा २० प्रतिशतले वृद्धि
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम पछिल्लो समय बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स रकम २० दशमलव तीन प्रतिशतले बढेर ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव चार प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स रकम १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई सय २२ दशमलव आठ प्रतिशतले वृद्धि भई ४४ हजार पाँच सय ४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भई २० हजार तीन सय ९० पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ८६ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।

विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड
पछिल्लो समय विदेशी मुद्राको सञ्चिति केही सन्तोषजनक अवस्थामा देखिएको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति एक दशमलव पाँच प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा एक दशमलव दुई प्रतिशतले कमी आई नौ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा शून्य दशमलव सात प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा छ दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना चार दिनको वस्तु आयात र आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । २०७९ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४ दशमलव सात प्रतिशत, ६६ दशमलव आठ प्रतिशत र २२ दशमलव दुई प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५ दशमलव एक प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।

खुद सेवा आय ११ अर्ब रुपैयाँले घाटामा
चालू आर्थिक वर्षको पहिलो महिनामा खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आवको पहिलो महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ११ अर्ब छ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५६ प्रतिशतले वृद्धि भई दुई अर्ब ६० करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक अर्ब ६७ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ८३ दशमलव आठ प्रतिशतले वृद्धि भई १० अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय सात अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय पाँच अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय तीन अर्ब ४७ करोेड रहेको राष्ट्र बैंकको भनाइ छ ।

नयाँ नोट वितरण गर्न बैंकहरूलाई निर्देशन
यही असोज २ गतेबाट सर्वसाधारणको लागि चाडपर्वलक्षित नयाँ नोट वितरण गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार वाणिज्य बैंकहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण कार्य, सरल, सहज र प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

सूचनामार्फत राष्ट्र बैंकले भनेको छ, बडादशैँको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्यधिक हुने गरेको विगतको अनुभवलाई मध्यनजर गरी बडा दशैँ २०७९ को अवसरमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस भनि यस वर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराइसकेको छ । यसै सन्दर्भमा यही असोज २ गतेदेखि आफ्नो बैंकको काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

वाणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई नयाँ नोटको सटही सुविधाको लागि काठमाडौं उपत्यका अर्थात् काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका कम्तीमा पाँच वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइटमार्फत सूचना दिने र त्यस्तो सूचनामा नयाँ नोट सुकिलो नो सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले सर्वसाधारणहरुलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरको प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८ हजार ५०० रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x