Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेश र श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रममन्त्रीको निर्देशन

देश र श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रममन्त्रीको निर्देशन


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार विभिन्न देशका श्रम सहचारी र काउन्सिलरसँग भर्चुअल बैठक गर्दै उनले राम्रोसँग बुझेर मात्रै डिमाण्ड स्वीकृत दिन आग्रह गरे ।

देश र श्रमिकको हित हुने खालको छ भने मात्रै डिमाण्ड स्वीकृत दिनुपर्नेमा उनले जोड् दिए । कसैको दबाब र धम्कीको आधारमा डिमाण्ड स्वीकृत नगर्न पनि उनले आग्रह गरे । डर, धम्की दिने व्यवसायीहरुसँग आफूले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताए । उनले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिकाअनुसार काम गर्न पनि निर्देशन दिए ।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताए । साथै उनले नेपाली श्रमिकले गर्ने काम र पाउने तलबका विषयमा बेला–बेला अनुगमन गरेर काम गर्न पनि अनुरोध गरे ।

नौवटा देशका श्रम सहचारी र काउन्सिलरले मन्त्री कुँवरलाई आफूले काम गरिरहेको श्रम गन्तव्य मुलुकमा श्रमिकका समस्या, तलबको अवस्था, म्यानपावर व्यवसायीले गरेको ठगी, जेल र मृत्यु भएका व्यक्तिहरुको व्यवस्थापन, अलपत्र परेका व्यक्तिहरुलाई दूतावासले गरिरहेको सहयोग लगायतका विषयमा जानकारी गराएका थिए । उनीहरुले नेपालीहरु काम गर्नभन्दा पनि भिजिट भिसामा गएर लुकेर बसेका कारण समस्यामा पर्ने गरेको जानकारी गराएका थिए । भिजिट भिसालाई व्यवस्थापन गर्नका लागि सहयोग गरिदिन मन्त्री कुँवरलाई उनीहरुले आग्रह गरेका थिए । त्यस्तै सीप सिकेका कामदारलाई मात्रै विदेश पठाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने पनि उनीहरुले माग राखेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x