Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबजार अनुगमनलाई तीव्र पार्दै घरेलु तथा साना उद्योग कार्यालय

बजार अनुगमनलाई तीव्र पार्दै घरेलु तथा साना उद्योग कार्यालय


बुटवल । चाडपर्व नजिकिएसँगै घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडबाडको समयमा बढी अखाद्य तथा म्याद गुज्रिएका सरसामानहरु बिक्रीवितरण हुने भन्दै कार्यालयले बजार अनुगमनलाई तीव्रता दिएको प्रमुख उद्योग अधिकृत तथा कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीले जानकारी दिए । ज्ञवालीले अघिपछिको समयभन्दा चाडपर्वको समयमा बढी बिक्रीवितरण हुने र सोही मौकाको फाइदा उठाएर म्याद गुज्रिएका अखाद्य खाद्यवस्तुहरु बिक्रीवितरण हुने हुँदा बजार अनुगमनलाई तीव्र बनाइएको बताए ।

कार्यालय प्रमुख ज्ञवालीले मासिक रुपमा गर्दै आएको अनुगमनलाई चाडपर्व नजिकिएसँगै दैनिक रुपमा गर्न थालिएको बताउँदै हाल नियमित र दैनिक अनुगमनको सिलसिलामा गत शुक्रबार मर्चवार क्षेत्रमा अनुगमन गरेका जानकारी दिए । मर्चवार क्षेत्रका स्थानीय तहहरु सम्रीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका र मर्चवारी गाउँपालिकामा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको बजार तथा उद्योगहरुमा अनुगमन गर्दा बजार स्वच्छतामा निकै समस्या रहेको अनुगमन टोलीका संयोजक तथा कार्यालय प्रमुख ज्ञवालीले जानकारी गराए ।

मर्चवारको मुख्य बजार क्षेत्र मानिने मझगवामा अनुगमन गर्दा पसलहरुले साइनबोर्ड नराखेको, मूल्यसूची नराखेको, होटलहरुमा अत्यधिक दुर्गन्ध भएको, भान्साहरुको सरसफाइमा ध्यान नदिएर दुर्गन्धित रहेको, अस्वाभाविक मूल्यवृद्धि गरी खाद्यवस्तु बिक्रीवितरण गरेको, खरिद तथा बिक्री मूल्य जारी नगर्ने जस्ता धेरै समस्याहरु रहेको भेटिएको कार्यालय प्रमुख ज्ञवालीले बताए । अनुगमनपश्चात् व्यवसायीलाई व्यवसाय दर्ता र समयमा नवीकरण गर्ने, सरसफाइमा ध्यान दिने, बिल जारी गर्ने, मूल्यसूची अनिवार्य राख्नेलगायतका निर्देशन दिएको उनको भनाइ छ ।

मझगवामा देखिएका जस्तै समस्यहरु उक्त गाउँपालिकाको रायपुरमा पनि देखिएको कार्यालय प्रमुख ज्ञवालीले बताए । उक्त क्षेत्रमा पनि बजारको व्यवस्थापन प्रभावकारी नभएको, व्यवसायीमा व्यावसायिकताको कमी, लेबलिङ नगरिएका सामान खरिद बिक्री गर्ने गरेको, म्याद गुज्रे नगुज्रेको हेर्न नजानेको अवस्था पाइएकोले सो क्षेत्रका स्थानीय तहहरुलाई समेत नियमित बजार अनुगमन गर्न सुझाव दिएको उनले बताए । उपभोक्ता अधिकारको संरक्षण र सम्वर्द्धनका लागि बजार अनुगमनलाई जिल्लाभरका सबै बजारहरुमा दैनिक रुपमा निरन्तरता दिने र कार्यालयले दिएका निर्देशन पालना नगरेमा कानुनअनुसार कारबाही गरिने बताउँदै कार्यालय प्रमुख रामप्रसाद ज्ञवालीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकोले जनस्वास्थ्यमाथि खेलबाड गर्ने कसैलाई पनि नछोड्ने बताए ।

उनले आमसर्वसाधारण नागरिकहरुलाई आफूले प्रयोग गर्ने खाद्यवस्तुको गुणस्तरीयता सकेसम्म आफैँले परीक्षण गर्नुपर्ने बताउँदै शंकास्पद अवस्थामा घरेलु तथा साना उद्योग कार्यालय, नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतका सम्बन्धित कार्यालयहरुमा खबर गरेर स्वस्थ खानपानका लागि सक्दो सहयोग गर्न आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x