Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानीयोग्य रकम अभावको प्रभाव

लगानीयोग्य रकम अभावको प्रभाव


काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव उच्च हुँदा उक्त आर्थिक वर्षको तरलता प्रशोचन रकम भने घटेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको खण्डमा तरलतालाई वाञ्छित सीमाभित्र राख्न राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको अधिक तरलता रकम दुरुपयोग नहोस् भनेर त्यस्तो रकम खिचेर राख्ने गर्छ । यसको लागि राष्ट्र बैंकले विभिन्न किसिमको मौद्रिक उपकरण जारी गरेर रकम खिच्न अर्थात् तरलता प्रशोचन गर्छ ।

गत आर्थिक वर्षमा वित्तीय क्षेत्रले तरलता अभावको समस्या व्यहोरेकै कारण उक्त वर्ष तरलता प्रशोचन रकम कम भएको हो । सो अनुुरुप आव २०७८/०७९ मा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोलमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा कुल तीन खर्ब तीन अर्ब २९ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा रिपोमार्फत चार खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत नौ खर्ब एक अर्ब सात अर्ब गरी कुल नौ खर्ब सात अर्ब दुई करोड तरलता प्रवाह गरिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष कुल चार खर्ब ३८ अर्ब २८ करोड तरलता प्रवाह भएको थियो । समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)बाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर तीन अर्ब ६० करोड खरिद गरी चार खर्ब २५ अर्ब ९४ करोड तरलता प्रवाह गरिएको थियो ।

गत आर्थिक वर्षमा अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी पाँच खर्ब ९५ अर्ब २३ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ५४ करोडलगायत अन्य विदेशी मुद्रा बिक्री गरी पाँच खर्ब ३५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

यसैगरी राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ असार मसान्तमा एक खर्ब ११ अर्ब ९६ करोड लगानीमा रहेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ४७ हजार तीन सय ९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब ८९ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार पाँच सय ४५ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब २३ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार एक महिला उद्यमीलाई प्रवाह भएको ७१ अर्ब कर्जा छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ४७ ऋणीको तीन अर्ब ६६ करोड कर्जा बक्यौता छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७९ असार मसान्तसम्ममा ९७ करोड ४० लाख स्वीकृत भएको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x