Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनियमविपरीत उड्ने हेलिकोप्टरले स्थानीय त्रसित

नियमविपरीत उड्ने हेलिकोप्टरले स्थानीय त्रसित


सोलुखुम्बु, फागुन १८
महेन्द्र शाही

उडिरहेको हेलिकोप्टरबाट ठूलो परिमाणको जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । बस्तीमाथिबाट बारम्बार झुण्ड्याएर कार्गो ढुवानी गरिरहेको हेलिकोप्टरबाट सामग्री खसेको थाहा पाएपछि हवाई मार्गका नागरिक त्रसित बनेका हुन् । गत शनिबार मात्रै सोलुदुधकुण्ड नगरपालिका १ को लुङ्दीङ जंगलमा उडिरेको कैलाश एयरको हेलिकोप्टरबाट करिब ६ सय केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयमा त्रास र आक्रोश दुवै पैदा भएका छ । टाक्सिन्दुका कुमार विश्कर्माले बारम्बार सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । उनले जंगलमा खस्ने सामग्री जुनै बेला पनि बस्तीमा खस्ने र ठूलो क्षति हुने भन्दै चिन्ता व्यक्त गरे । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीको लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरूको सुझाव कार्यान्वयन नभएको प्रति आक्रोश समेत व्यक्त गरे । उनले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिई कुनै पनि मानवीय क्षति भएमा त्यसको जिम्मेवारी नियमनकारी निकायले लिनुपर्ने भन्दै त्यस बेलाको परिस्थिति फरक हुने चेतावनी समेत दिए । नागरिकको जीउधनको सुरक्षा गर्ने निकायसमेत मौन बसेको प्रति उनले प्रश्न गर्दै भने, “नियम कानुन नभएको देश त होइन होला, मापदण्ड होला, आधार होला किन यसरी बारम्बार सामान खस्दासमेत मौन बसेको ?” नियमनकारी निकायको मौनता कायम रहे आफूहरू चुप लागेर नबस्ने उनको दाबी छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु डाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठ समेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखीम बढ्ने स्थानीयको भनाइ छ । आपूmहरूलाई असुरक्षा भएको भन्दै बारम्बार आवाज उठाउँने गरेको भए पनि सुनुवाइ नभएको टेण्डी शेर्पाले बताए । खुम्बु क्षेत्रको लागि आवश्यक सामग्री सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुबाट ढुवानी हुँदै आएको छ । नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षाअन्तर्गत खनतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु÷गराउनु हुँदैन भन्ने उल्लेख गरिएको छ । तर, यहाँ प्रहरी प्रशासनदेखि नागरिक उड्डयन प्राधिकरणका कुनै पनि कर्मचारी देखिँदैन । नागरिक उड्डयन प्राधिकरणले सामग्री ढुवानीको लागि केही समयको लागि शर्तसहित अनुमति प्रदान गरे पनि त्यसको अनुगमन गर्ने कुनै पनि निकाय नहुँदा नियमविपरीत कार्य भइरहेको स्थानीयको दाबी छ ।

स्थानीय प्रशासनसँग समन्वय गरी उडान तथा अवतरण गर्नुपर्ने व्यहोराको अनुमति पत्र भए पनि यहाँका स्थानीय प्रशासनलाई सो बारे जानकारीसमेत हुँदैन । आफ्नो क्षेत्रभित्र भइरहेको गतिविधिको विषयमा प्रत्यक्ष निगरानी राख्ने क्षमतासहितको स्थानीय सरकारसमेत रमिते बनेका छन् । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरूको क्षेत्रअधिकारभित्र नभएको बताए । नगरपालिकाका नागरिकले असुरक्षित भएको महसुस भएको विषयमा भने सम्बन्धित निकायसँग समन्वय गर्ने भन्दै सञ्चारकर्मीलाई दरिलो आवाज उठाइदिन माग गरे । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले भने आफ्नो गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको कुनै विकल्प नभएको बताए । ढुवानीको अन्य विकल्प नभए पनि स्थानीय नागरिकले सुरक्षाको प्रत्याभूति भने गर्नुपर्ने भन्दै यसतर्फ सम्बन्धित कम्पनीले ध्यान दिनुपर्ने बताए । नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमतिबेगर त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्तको विपरीत हुनेगरी वायुयान सञ्चालन गरेमा एक लाखदेखि १० लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था पनि उल्लेख गरेको छ । तर, यहाँ कारबाही सट्टा देखे पनि नदेखेझै गरेर बस्नेगरेको स्थानीय लाक्पा शेर्पाले बताए । गत भदौ १९ गते उडिरहेको कैलाश एयरकै हेलिकोप्टरबाट सोलुदुधकुण्ड नगरपालिका २ को फेरामा सिरकलगायतको सामग्री खसेको थियो । त्यसबेला पनि जिल्ला प्रशासन कार्यालयमै फोन सम्पर्क गरी स्थानीयले असुरक्षित भएको भन्दै प्रशासनको ध्यानकर्षण गराएको भए पनि कुनै पनि कारबाहीको निर्णय भएन । गत शनिबार जस्तापाता खसेको विषयमा छानबिन गर्न समिति नै गठन भए पनि समितिको प्रतिवेदन चित्तबुझ्दो आउँनेमा यहाँका नागरिकले शंका व्यक्त गरेका छन् । पाइलट गुन्जमान लामाको नेतृत्वमा गठित ३ सदस्य टोलिले गतआइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको थियो ।

छानबिन समितिका संयोजक लामासहितको टोलिले कैलाश एयरकै हेलिकोप्टर प्रयोग गरेर निरीक्षण गरेको थियो । आकाशबाटै घटनास्थलको निरीक्षण गरेको टोलिले अहिले प्रतिवेदन तयार गरिरहेको बताएको छ । समितिका संयोजक लामाले मापदण्डअनुसार नै ढुवानी भइरहेको भन्दै कम्पनीको बचाउमा लागेका छन् । सामान बोक्न प्रयोग गरिएको जालि च्यातिएर सामान झरेको भन्दै उनले घटनाको विषयमा प्रतिवेदन तयार भइरहेको बताए । यता घटना भएपछि प्रहरी प्रशासनको तर्फबाट कार्गो ढुवानी तत्कालको लागि बन्द गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । “छानबिन समितिले तयार गर्ने प्रतिवेदन एउटा होला ।” लिम्बुले भने, “हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौँ, अहिलेलाई ढुवान बन्द गरिएको छ । यस विषयमा कैलाश एयरका जनरल म्यानेजर प्रतापजंग पाण्डेसँग बारम्बार कुराकानी गर्न खोज्दा फोन रिसिभ भएन भने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई समेत बारम्बार सम्पर्क गर्दा फोन रिसिभ भएन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x