Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल र कोरियाबीच दुई सम्झौतामा हस्ताक्षर

नेपाल र कोरियाबीच दुई सम्झौतामा हस्ताक्षर


काठमाडौं । नेपाल र गणतन्त्र कोरियाबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनः एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र ‘नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहितको साइबर ब्युरोको स्थापना’ गर्ने दुई आयोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कुल एक करोड ६० लाख अमेरिकी डलर (लगभग दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउनेछ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने सम्झौतामा उल्लेख छ । कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु-याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनः एकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ । यस आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड (एडीबीएल)मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनको लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ ।

त्यसैगरी साइबर ब्युरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराधविरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्युरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ । कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर ब्युरोलाई सक्षम बनाउनका साथै कोरियाबाट फर्केका आप्रवासी कामदारहरूलाई आफ्नो समाजमा स्थापित गर्न र नेपालमा रोजगारी बढाउनका लागि यी दुई परियोजना महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा राजदूत पार्कले विश्वभर व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न साइबर अपराध नियन्त्रण आयोजना महत्वपूर्ण सहयोग हुने उल्लेख गरे । त्यसैगरी राजदूत पार्कले कोरियाबाट फर्किएका आप्रवासीसम्बन्धी आयोजनामार्फत ठूलो संख्यामा कोरियाबाट फर्किएकाले आफ्नो सीपलाई उपयोग गरी उद्यम स्थापनामार्फत रोजगारी सिर्जना गरी देशको आर्थिक वृद्धिमा योगदान पु-याउन सक्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x