Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएक भारतीयसहित बैंकिङ कसुरमा फरार तीन जना पक्राउ

एक भारतीयसहित बैंकिङ कसुरमा फरार तीन जना पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (मिनभवन) का सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाका अनुसार कास्कीको मादी गाउँपालिका ७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ बस्दै आएका ५८ वर्षीय नारायण भण्डारी, भारतको हरियाणा घर भई हाल काठमाडौंको भोटेबहाल बस्दै आएका ४४ वर्षीय शशी शर्मा र काठमाडौंको टोखा नगरपालिका ११ गोंगबु भण्डारी गाउँ स्थायी ठेगाना भएका ३४ वर्षीय रोशन भण्डारीलाई पक्राउ गरिएको हो ।

तीमध्ये नारायणलाई काठमाडौंको बालाजु चोकबाट बिहीबार, शर्मालाई काठमाडौंको सतुंगलबाट बिहीबार र रोशनलाई काठमाडौंको टोखाबाट बुधबार पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये नारायण भण्डारीउपर उच्च अदालत पाटनको २०७९ असार २१ गतेको फैसलामा दुई लाख रुपैयाँ जरिवाना, एक दिन कैद र आठ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको थियो । उक्त फैसलापश्चात् फरार रहेका नारायणलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान अन्दाजी ११ बजे बालाजुचोकबाट पक्राउ प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । उनलाई सोही दिन ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

यसैगरी वादी नेपाल सरकार र प्रतिवादी भारत देश हरियाना राज्य भिवानी जिल्ला चर्खिदारी भई हाल काठमाडौंको भोटेबहाल बस्ने ४४ वर्षीय शर्मालाई २५ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ भदौ ७ गते पक्राउ अनुमति जारी गरेको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ । सो पश्चात् फरार रहेका शर्मालाई बिहीबार सतुंगलबाट पक्राउ गरी सोही दिन महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको कोइरालाले जानकारी दिए ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार रोशनउपर भने बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २०७९ असार १३ गते भएको फैसलामा पाँच लाख ५० हजार रुपैयाँ जरिवाना, चार दिन कैद र २२ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने फैसला भएको थियो । सो पश्चात् फरार रहेका भण्डारीलाई गोंगबु भण्डारी गाउँबाट पक्राउ गरिएको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x