Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंविधानअनुसार संघीय कानुन नबन्दा संघीयताप्रति प्रश्न उब्जियो : प्रकाशमान सिंह

संविधानअनुसार संघीय कानुन नबन्दा संघीयताप्रति प्रश्न उब्जियो : प्रकाशमान सिंह


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानअनुसार संघीय कानुन नबन्दा संघीयताप्रति प्रश्नचिह्न खडा भएको बताएका छन् । संघीय सरकारले संघीय कानुन बनाएर संविधान अनुसार प्रदेश सरकारलाई अधिकार नदिएको कारण प्रदेश सरकारहरूले सोचेअनुरूप काम गर्न नसकेको उनको भनाइ थियो ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले गत निर्वाचनमा जनताले बाम गठबन्धनलाई दुई तिहाई मत दिँदा समेत संविधानअनुरूप नितिनियम निर्माण गर्न असफल भएको बताए । सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार समेत रहेका सिंहले समयअनुकूल ऐन कानुन निर्माण तथा आर्थिक समृद्धिको लागि पनि जनताले कांग्रेसलाई मत दिनुपर्ने बताए । देशमा भएका सम्पूर्ण परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेकोले अब आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले नै गर्ने उनको भनाइ थियो । साथै सिंहले सोमबार नै आफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् । सिंह, कांग्रेस नेता राधेश्याम अधिकारी, प्रदेशसभा क्षेत्र (क)का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, प्रदेशसभा क्षेत्र (ख)का उम्मेदवार सुरजचन्द्र लामिछानेलगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

सिंहले ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने नारासहित चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले काठमाडौं १ मा २०७४ को चुनावका बेलाभन्दा अहिले सडक कालोपत्रलगायत विकास निर्माणका कामहरू धेरै भइसकेको र केही बाँकी रहेको बताए । साथै भू–माफियाहरूले कब्जामा राखेको १६ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा आफूहरूको पहलमा फिर्ता ल्याई विभिन्न पार्कहरू निर्माण गरेको बताए । शिक्षा, स्वास्थ्य, सडकलगायत पूर्वाधारका क्षेत्रमा बाँकी रहेका काम सम्पन्न गर्न पनि यसपालि आफूले उम्मेद्वारी दिएको उनको भनाइ छ ।

काठमाडौं १ मा कम्युनिस्टहरूको लालकिल्लालाई आफूले नै तोडेको बताउँदै उनले फेरि पनि आफूलाई जनताले जिताउने बताए । उनले आफू संसद्मा हुँदा जनजीविकाका सवाल उठान गरेको र यस क्षेत्रका जनताको कहिल्यै शिर निहुराउने काम नगरेको बताए । प्रतिबद्धता पत्रमा उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने, युवालाई रोजगारीको व्यवस्था गर्ने, उच्च सवारी चाप हुने क्षेत्रमा ओभरहेड पुल निर्माण बनाउने, निःशुल्क वाइफाइ जोन बनाउने, बागमतीदेखि टुकुचासम्मलाई सफा राख्नेजस्ता काम गर्ने उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x