Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहाकाली अस्पतालले ‘ओजेटी’ शुल्क बढाएको भन्दै विद्यार्थी असन्तुष्ट

महाकाली अस्पतालले ‘ओजेटी’ शुल्क बढाएको भन्दै विद्यार्थी असन्तुष्ट


महेन्द्रनगर, फागुन २०

कञ्चनपुरमा रहेको महाकाली अस्पतालले गरेको निर्णयको समयमै सूचना प्रवाह नगर्दा अस्पतालमा ओजेटी गरिरहेका विद्यार्थी अन्यौलमा परेका छन् । महाकाली अस्पतालमा देशभरबाट विभिन्न सरकारी तथा निजी मेडिकल तथा स्वास्थ्यसम्बन्धी कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरू ओजटी गर्न आउने गरेका छन् । अस्पतालमा ओजेटी गराएबापत अस्पतालले विद्यार्थीहरूबाट निश्चित शुल्क लिने गर्दछ । उक्त शुल्कस्वरूप महाकाली अस्पतालले गत पुस एक गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो, जसमा कञ्चनपुरभित्रका संस्थाहरूको हकमा प्रतिविद्यार्थी दुई हजार पाँच सय रूपैयाँ र कञ्चनपुर जिल्लाबाहिरका विद्यार्थीहरूमा प्रतिविद्यार्थी तीन हजारका दरले लिने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी विद्यार्थीहरूलाई पहिले नै जानकारी नगराएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अस्पतालले शुल्क बढाएपछि आफूहरूलाई समस्या गरेको ओजेटी गरिरहेकी एक विद्यार्थीले बताइन् । उनले आफू गत मंसिर १५ गते गण्डकी मेडिकल कलेज पोखराबाट एएनएमको तीन महिनाको ओजटी गर्न आएको बताइन् । ‘त्यसबेला अस्पताल प्रशासनले तत्काललाई नियमअनुसारको शुल्कमा ओजेटी गर्न स्वीकृति दिएको थियो । उक्त समयमा अस्पतालमा ओजेटी गरेबापत लाग्ने शुल्क एक हजार मात्र रहेको अस्पतालले बताएको थियो’, उनले भनिन् । उनले आफूले ऋण लिएर पढेको बताउँदै अस्पतालले पहिला भनेभन्दा दोब्बर शुल्क लिएर अस्पतालले जे मन लाग्यो त्यही गरेको आरोप लगाएकी छिन् ।

अस्पताल प्रशासनले भने अस्पतालमा नयाँ गठन भएको कार्य समितिले बैठक बसेर ओजेटी गर्ने विद्यार्थीहरूको शुल्क बढाउने निर्णय गरेको जानकारी दिएको छ । उक्त निर्णयअनुसार नै शुल्क बढाइएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डाक्टर अर्जुन भट्टले बताए । तर, यता ओजेटी गरिहरको विद्यार्थीहरूले भने अस्पतालले मनोमानी निर्णय गरेको र आफूहरूलाई दुःख दिने गरेको बताएका छन् । पहिला अनुमति दिनेबेला एक हजार पाँच सय रूपैयाँ भनेको तर नियममा एक हजार मात्र रहेको बताएका छन् । अस्पतालले आफूहरूलाई एक हजार पाँच सय रूपैयाँको गलत सूचना दिएको र अहिले अझ बढाएर तीन हजार रूपैयाँ भनेर सताएको विद्यार्थीहरूले बताएका छन् । महोत्तरीमा अध्ययन गरी अस्पतालको सेवा पनि गर्न र केही सिक्ने आशाले महाकाली अस्पतालमा ओजेटी गर्न आएको बताउँदै विरेन्द्रसिंह महराले अस्पतालले मनोमानी गरेर आफूहरूलाई जानेबेला दुःख दिएको बताए । उनले आफू महोत्तरीमा सीएमए पढिरहेको र आजेटी गर्न महाकाली अस्पतालमा आएको बताए । ‘अस्पतालले गत पुस १५ गते अस्पतालको स्वीकृतिमा ओजेटीमा आएको हो उक्त बेला अस्पतालले १५ सय ओजेटी शुल्क रहेको बताएको थियो । तर, अहिले समय पुगेपछि प्रमाणपत्र माग्दा तीन हजार तिर्न लगाएको छ’, महराले भने । गत पुस १५ गते महाकाली अस्पतालमा गण्डकी मेडिकल कलेज पोखरा, सुषमा कोइराला मेमोरियल कलेज नेपालगञ्ज, महोत्तरी, र धनगढीलगायत विभिन्न ठाउँबाट २१ जना सीएमए र एएनएमका लागि तीन महिने ओजेटीमा आएका हुन् । एकै दिन उपस्थित उनीहरूलाई फरक–फरक शुल्क लिएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि प्रकट गरिरहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x