Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सातबुँदे निर्देशन

राजनीतिक दल तथा उम्मेदवारलाई आयोगको सातबुँदे निर्देशन


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई सातबुँदे निर्देशन दिएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बुधबार प्रेस विज्ञप्ति जारी गरी आचारसंहिता उलंघन गरेको पाइएको भन्दै पालन गर्न निर्देशन दिएका हुन् । आचारसंहिता उलंघन भएमा कारबाही गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

आयोगका अनुसार लाभको पदमा रहेका राजनीतिक व्यक्तित्वबाट निर्वाचन प्रचारप्रसारमा सरकारी स्रोतसाधन उपयोग गरको, घरदैलो कार्यक्रममा सुरक्षाकर्मीसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्ने समेतका गतिविधि भएको पाइएको छ । निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुसमेतलाई पालना गर्न लगाउन आयोगले निर्देशन दिएको हो ।

आयोगले आचारसंहिताको दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्नबाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने समेत स्पष्ट गरेको आयोगले जनाएको छ । प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा संघीय वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचारप्रसार गर्ने, प्रचारप्रसारमा सरकारी साधन स्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दाबाहेक निर्वाचन प्रचारप्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचार प्रसार गर्न जाँदासमेत उल्लिखित व्यवस्थाको पालना गर्न आयोगले निर्देशन दिएको छ ।

यस्तै सोही दफाबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले पनि आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् । सो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचारप्रसार गर्न जान पाउने भए पनि प्रचार प्रसारका लागि जाँदाआउँदा सरकारी साधन स्रोत तथा जनशक्ति उपयोग गर्न नपाउने व्यवस्था रहेकोले सोहीअनुसार गर्न आयोगले निर्देशन दिएको छ । यस्तै दफा १३ मा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएकाले सो अवधि २०७९ कात्तिक १७ गते सुरु हुने हुँदा त्यसअघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलुस, आमसभा, कोणसभाजस्ता कार्यक्रम तथा सञ्चारमाध्यमबाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्न आयोगले भनेको छ ।

आयोगका अनुसार दफा १३ मा निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख छ । यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने समेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्न आयोगले निर्देशन दिएको छ । यस्तै सोही दफामा नै निर्वाचन प्रचारप्रसारको लागि आयोगले अनुमति दिएको सवारीसाधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले आयोगले तोकेबमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रचारप्रसारको लागि सवारीसाधन प्रयोग गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसारको लागि अनुमति लिएका सवारीसाधनबाहेक अन्य सवारीसाधनमा दलको वा निर्वाचनचिह्न अंकित झण्डा प्रयोग नगर्न पनि आयोगले निर्देशन दिएको छ ।

यस्तै अयोगले कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेकोले त्यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले नै राखेको मानी कारबाही हुने व्यवस्था रहेको आयोगले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x