Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारव्यापारघाटामा नौ प्रतिशतले कमी आयात १३ प्रतिशतले घट्यो

व्यापारघाटामा नौ प्रतिशतले कमी आयात १३ प्रतिशतले घट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारको निर्देशनअनुसार विदेशी विनिमय सञ्चिति बढाउनकै लागि विलासी वस्तुहरूको आयातमा कडाइ गरेसँगै यसको प्रभाव अर्थतन्त्रमा देखिन थालेको छ । सोअनुसार पछिल्लो समय मुुलुकको व्यापारघाटामा वृद्धिदर घटेको छ भने आयातमा पनि केही कमी छ । यसको सकारात्मक प्रभाव मुलुकको विदेशी विनिमय सञ्चितिमा परेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको भदौ मसान्तसम्मको प्रतिवेदनअनुसार यस अवधिमा कुल वस्तु व्यापारघाटा नौ दशमलव चार प्रतिशतले घटेर दुई खर्ब ४४ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव आठ प्रतिशतले बढेको थियो ।

कुल वस्तु आयात पनि चालू आवको पछिल्लो दुई महिनामा १३ प्रतिशतले घटेर दुई खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको भदौ मसान्तसम्ममा कुल वस्तु निर्यात भने ३४ दशमलव नौ प्रतिशतले घटेर २८ अर्ब ६८ करोड रुपैयाँमा खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले घटे पनि अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । वस्तुगत आधारमा जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधि (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैँची, दन्तमञ्जनलगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौ दशमलव पाँच प्रतिशत, १३ दशमलव तीन प्रतिशत र २० दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएसविलेटलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ भने सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिएको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानीबाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । चालू आवको पछिल्लो दुई महिनामा निर्यात–आयात अनुपात १० दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २६ अर्ब २३ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६ अर्ब २७ करोड रुपैयाँबराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।

सात महिनालाई धान्ने विदेशी मुद्रा
विदेशी मुद्राको सञ्चिति सामान्यरूपमा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव दुई प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा दुई प्रतिशतले कमी आई नौं अर्ब ३५ करोड कायम भएको राष्ट्र बैंकको भनाइ छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई १० खर्ब ५१ अर्ब ५३ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३ दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को दुई महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिनाको वस्तु आयात र सात महिना सात दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाइ छ । २०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५ दशमलव एक प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

खुद सेवा आय १८ अर्ब ६२ करोडले घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा खुद सेवा आय १८ अर्ब ६२ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५२ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७२ दशमलव दुई प्रतिशतले वृद्धि भई पाँच अर्ब ९५ करोड पुगेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय तीन अर्ब ४६ करोड रुपैयाँबराबरको रहेको थियो ।
चालू आववको पछिल्लो दुई महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२ दशमलव सात प्रतिशतले वृद्धि भई १७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो भ्रमण व्यय ११ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय छ अर्ब ३७ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।

चालू खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा चालू खाता ३७ अर्ब १८ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भने चालू खाता एक खर्ब छ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २९ करोड १७ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको पछिल्लो दुई महिनामा पुँजीगत ट्रान्सफर एक सय छ दशमलव नौ प्रतिशतले वृद्धि भई एक अर्ब ४६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब २५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब चार करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८० करोड नौ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १८ करोड ५९ लाखले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ ।

१९ दशमलव आठ प्रतिशतले बढ्यो रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकममा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालू आवको भदौ मसान्तसम्ममा रेमिट्यान्स रकम १९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स रकम भने ११ दशमलव तीन प्रतिशतले वृद्धि भई एक अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव तीन प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय ६९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक लाख तीन हजार आठ सय ९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७० दशमलव छ प्रतिशतले वृद्धि भई ३९ हजार एक सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार सय २९ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा खुद ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई खर्ब अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ प्रतिशतले घटेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x