Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘विकास, सुशासन र समृद्धि’ रिद्धीका चुनावी ऐजन्डा

‘विकास, सुशासन र समृद्धि’ रिद्धीका चुनावी ऐजन्डा


काठमाडौं । ‘विकास, सुशासन र समृद्धिका लागि रिद्धी’ भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं, क्षेत्र नं ४, प्रदेश ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार रिद्धी प्रताप जबराले आफ्ना चुनावकेन्द्रित नीति र योजनाहरू सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्दै केही सञ्चारकर्मीहरूको उपस्थितिमा आफ्ना नीति तथा योजनाहरू सार्वजनिक गरेका हुन् ।

संघीयताको खारेजी, भ्रष्टाचारमुक्त मुलुक निर्माण, आर्थिक क्रान्तिको लागि, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य, राष्ट्रिय स्वाधीनता तथा काठमाडौं क्षेत्र नं ४ लाई देशकै व्यवस्थित, स्वस्छ र सुरक्षित नमूना क्षेत्र बनाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘हलो’ चिह्न लिएर आफू चुनावी मैदानमा उत्रिएको उनले बताए । ‘राष्ट्रियता जोगाउने लडाइँ, भ्रष्टाचारमुक्त समाज बनाउने अभियान र यस क्षेत्रको विकासको यात्रामा जोडिन मैले उम्मेदवारी दिएको हुँ’, उनले भने । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका निर्वाचनमा उम्मेदवारको हैसियतमा आफ्नो नीति र योजनाको बारेमा जानकारी दिँदै उनले भने, ‘अहिले देशमा रोग, भोक र शोक छ, यी तमाम बेथितिहरूलाई चिरेर आर्थिकरूपमा समृद्ध, सुशासनयुक्त र स्वाधीन मुलुक बनाउन आवाज बुलन्द गर्नका लागि म चुनावी मैदानमा आएको हुँ ।’

‘अहिले सबै धेरैजसो नेपाली नागरिकहरू पीडामा छन्, विशेषगरी हुँदाखाने वर्गहरूको लागि यो मुलुक आर्थिकरूपमा असुरक्षित बन्दै गएको छ, युवाहरू बेरोजगार भएका छन् । केही पैसाको जोहो गर्नको लागि खाडी मुलुकमा जान बाध्य भएका छन्, ती तमाम युवाहरूलाई आफ्नै देशमा रोजगार बनाउनको लागि, उनीहरूको योग्यता र क्षमताका आधारमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि पनि मैले उम्मेदवारी दिएको हुँ । हामीसँग स्रोत छ, साधन छ, जाँगर छ भने किन हामी आफ्नो देश, परिवार छाडेर विदेश जाने ? मेरो पहिलो ऐजेण्डा नै रोजगारीको लागि आफ्नै देशमा काम गर्ने वातारण बनाउनु हो । शिक्षा र स्वास्थलाई सबैको पहुँचमा पु-याउन सकेको खण्डमा देशले छोटो समयमा नै काँचुली फेर्न सक्छ, यसको लागि हामीले सरोकारवाला सबै निकायको समन्वयमा काम गर्न सक्छौँ, अहिले पनि कति नेपाली नागरिकहरू बिरामी हुँदा रगत नपाएकै आधारमा आधा उमेरमै मर्न बाध्य भएका छन् । रगतलाई सबैको पहुुँच पुग्ने गरी नेटवर्क विस्तार गर्ने र रगतको आपूर्ति गर्नुपर्छ, यसको लागि पनि हामी काम गर्छौँ’, उनले भने ।

उनले सबै क्षेत्रका युवाहरूलाई स्वरोजगार बनाउने, बेरोजगारहरूलाई सीपमूलक तालिम, सामूहिक, व्यवसाय सञ्चालन गरी बेरोजगार अन्त्य गरी रोजगार सिर्जना गर्ने, घरेलु तथा साना उद्योगहरूको विस्तार गर्ने, उत्पादन र बजारीकरणलाई प्रभावकारी बनाई आम नागरिकको दैनिक जीवन सहज बनाउनको लागि पनि काम गर्ने बताएका छन् । विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षताका आधारमा स्वदेश फर्केर सोही पेसा व्यवसाय गर्न प्रोत्साहन गर्ने, सरकारी एवं सामुदायीक विद्यालयको स्तर सुधार गर्ने, गुठीमार्फत विद्यालय सञ्चालन गर्ने, व्यावहारिक एवं प्रविधियुक्त शिक्षालाई प्रभावकारीरूपमा अगाडि बढाउने योजना रहेको उनले बताए । यसबाहेक सहरी क्षेत्रलाई थप विकास गर्ने, स्थानीय ज्ञान, सीप, कला र संस्कृतिलाई जर्गेना गर्ने, आफ्नो निर्वाचन क्षेत्रभित्र प्रत्येक युवाहरूलाई आफ्नो योग्यता र क्षमताका आधारमा रोजगारी दिने वातावरण हामी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

राष्ट्रियता जोगाउने लडाइँ, भ्रष्टाचारमुक्त समाज बनाउने अभियान, र यस क्षेत्रको विकासको यात्रामा जोडिन आफूले उम्मेदवारी दिएको उनले बताए । ‘म यो या ऊ पार्टी भन्दिनँ, यस क्षेत्रमा अहिले विभिन्न पार्टीका तर्फबाट थुप्रै नेताहरू आ–आफ्ना एजेन्डा लिएर चुनावी मैदानमा उत्रिनुभएको छ, उहाँहरू धेरैजसो बाहिरबाट आएर यस क्षेत्रमा बसोबास गर्नुभएको हो’, उनले भने, ‘तर म यही क्षेत्रको हुँ, यही क्षेत्रमा जन्मीहुर्की खेलेको मान्छे हुँ । यस क्षेत्रका प्रत्येक नागरिकको दुःख, सुख, हाँसोखुसी र रोदनसँग म नजिक छु । यस क्षेत्रका युवायुवतीहरूको पीडा मैले बुझेको छु । यो बुझाइलाई निर्णायक तहमा पु-याउनको लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x