Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबन्द हुने अवस्थामा कंक्रिट मिक्सर मेसिन उद्योग

बन्द हुने अवस्थामा कंक्रिट मिक्सर मेसिन उद्योग


भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इन्जिनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । विसं २०५४ देखि सो उद्योगले कंक्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कंक्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ । एक समय वार्षिक एक हजार हाराहारीमा उक्त मेसिन उत्पादन गर्दै आइरहेको कम्पनीले गत वर्ष मुस्किलले एक सयवटा मेसिन निर्माण गरेर बिक्री गरेको थियो । यस वर्षदेखि भने उद्योग चल्ने अवस्थामा नरहेको कम्पनीका सञ्चालक ताराप्रसाद पौडेलले जानकारी दिए ।

गुणस्तरीय मेसिन उत्पादन गरे पनि विदेशबाट आयात हुने सस्तो मेसिन र सरकारले तयारी सामानभन्दा कच्चा पदार्थमै बढी भन्सार दर लगाएपछि त्यसको मारमा परेर उद्योग बन्द गर्नुपरेको उनले बताए । ‘सरकारले हामीलाई सहज वातावरण बनाइदिए यस्ता उद्योग अझै खुल्थे, अब त हामी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ’, उनले भने । उनको उद्योगले नयाँ मेसिनका लागि चाहिने पाट्र्स उत्पादन बन्द गरिसकेको छ । बनेर बसेको १५–२० वटा मेसिन बिक्री भएपछि नयाँ उत्पादन नगर्ने निर्णयमा पुगेको सञ्चालक पौडेलले बताए ।

चितवन, रूपन्देहीलगायतका जिल्लामा १५ वटा यस्ता उद्योग सञ्चालनमा थिए । अहिले घटेर दुईवटा उद्योगमा खुम्चिएको छ । चितवन र रूपन्देहीमा एक–एक उद्योग सञ्चालनमा छन् । रूपन्देहीमा रहेको नेसनल इन्जिनियरिङ मेटल प्रालि एक समय सर्वाधिक वार्षिक एक हजार पाँच सयसम्म मेसिन उत्पादन गर्दथ्यो । अहिले घटेर एक सय मात्रै मेसिन उत्पादन गर्नेगरेको छ ।

सरकारले यस उद्योग सञ्चालनका लागि चाहिने कच्चापदार्थ आयातमा १० देखि १५ प्रतिशतसम्म भन्सार दर कायम गरेको छ भने १३ प्रतिशत भ्याट र प्रतिकेजी पाँचका दरले अन्तःशुल्कसमेत थप गरेको छ । तर यही सिङ्गो तयारी मेसिन आयात गर्दा भन्सार महसुल मात्र चार प्रतिशत र भ्याट नलाग्ने व्यस्था छ । यस नीतिलाई सच्याउन उद्योगीले सरकारसँग पटक–पटक माग गरिरहेका छन् । तर माग सुनुवाइ नहुँदा छिट्टै उद्योग बन्द हुने अवस्थामा पुगेको उद्योगीको भनाइ छ ।

नेसनल इन्जिनियरिङ मेटलका सञ्चालक रामप्रसाद खनालले सरकारले उद्योगीको संरक्षण गर्नुको साटो विस्थापित गर्ने अभियानमा लागेको बताए । ‘हामीले अहिले मात्र होइन, पटक–पटक कच्चा पदार्थको भन्सार दरबारे माग राखेका थियौँ, तर अहिलेसम्म सम्बोधन नहुँदा हामी पलायन हुने अवस्थामा पुगेका छौँ’, उनले भने । उद्योगीका साझा संस्था नेपाल उद्योग परिसङ्घलगायतका सङ्घसंस्थाले कच्चा पदार्थ आयातको भन्सार दर घटाउन माग गर्दै आइरहेका छन् । तर ती कुराको सुनुवाइ नहुँदा झन् समस्या बल्झिन थालेको चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए । ‘सरकार उद्योग व्यवसाय फस्टाउनमा जोड दिनुपर्ने हो तर विडम्बना उल्टै उद्योगधन्दा मास्ने खालका नीति निर्माण गर्दा समस्या देखिन थालेका छन्’, उनले भने ।

पछिल्लो समय अन्य उद्योगधन्दा पनि खुल्ने क्रम जारी छ । तर सबैको डर कतै पछि बन्द गर्नुपर्ने अवस्था त आउने होइन भन्नेमा देखिन्छ । चितवन उद्योग सङ्घका उपाध्यक्ष युगराज बस्तीले युवा उद्यमी व्यवसायीलाई सरकारले प्रवर्द्धन गर्नुको साटो उल्टै पलायन हुने बाटो देखाउन थालेको आरोप लगाए । उनले कंक्रिट मिक्सर मेसिन निर्माण गर्ने उद्योग बन्द हुँदै गर्दा युवा रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था सिर्जना हुने बताए । उनले यसतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपालका कंक्रिट मिक्सर मेसिन उद्योगमा सुरुआती समयमा चार सय ५० भन्दा बढीले रोजगारी पाएका थिए । उद्योग बन्द हुँदै जाँदा अहिले घटेर एक सयमा झरेको छ । नेपालमा उद्योग बन्द हुँदै जाँदा वर्षेनी ११ हजार बढी कंक्रिट मिक्सर मेसिन विदेशबाट आयात हुँदै आइरहेको छ । यसबाट ७६ करोड रूपैयाँभन्दा बढी रकम विदेशिने गरेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x