विश्व बैंकले नेपाल सरकारलाई भन्यो– ‘वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाऊ’
काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक अवस्था र विदेशी मुद्रा सञ्चितिमा सुधार आएको भन्दै वस्तु आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सोमबार काठमाडौंमा आयोजित ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले त्यस्तो सुझाव दिएको हो ।
सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै कार, जिपलगायतका गाडी, तीन सय डलरभन्दा माथिका मोबाइल, एक सय सीसीभन्दा माथिका मोटरसाइकल, विदेशी मदिराको आयातमा आउँदो मंसिर मसान्तसम्म प्रतिबन्ध लगाएको छ ।
सरकारले गत वैशाखदेखि १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध लगाएकामा अहिले छ प्रकारका वस्तुमाथिको आयात प्रतिबन्ध हटाएर चार प्रकारका वस्तुको आयातमा भने प्रतिबन्ध जारी राखेको बेला विश्व बैंकले उक्त प्रतिबन्धले नेपालको व्यापारमा असर गरेको दाबी गरेको छ । सरकारले वस्तु आयातमा प्रतिबन्ध जारी राखे पनि सोचेजस्तो विदेशी मुद्रा सञ्चिति बढेको छैन । विश्ब बैंकले आयात नियन्त्रण गर्न सरकारलाई भिन्नै सुझावसमेत दिएको छ ।
‘नेपालले अहिले आयातमा लगाइरहेको प्रतिबन्ध हटाएर आवश्यकताको आधारमा मौद्रिक नीतिमार्फत ब्याजदर बढाउने, पुनर्कर्जाको सुविधामा कमी गर्ने, बैंकको रेगुलेटरी प्रोभिजनहरु बढाउने गर्नुपर्छ । यस्तो नीति अवलम्बन गर्दा बाहिरी माग घटाएर आयातलाई आफैं नियन्त्रण गर्दछ’, विश्व बैंकले नेपाल सरकारलाई दिएको सुझावमा भनेको छ ।
विश्व बैंकले औपचारिक रुपमा नै वस्तु आयातमाथिको प्रतिबन्ध खुलाउन सुझाव दिनुअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि यस्तै सुझाव नेपाल सरकारलाई दिइसकेको छ । नेपालका उद्योगी र व्यवसायीका संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सरकारलाई वस्तु आयातमाथिको प्रतिबन्ध हटाउन माग गरेका थिए । तर, सरकारले त्यसलाई नमानी आउँदो मंसिर मसान्तसम्म आयात प्रतिबन्ध जारी रहने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
नेपालको अर्थतन्त्रबारे सूक्ष्म तरिकाले अध्ययन गरेको विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जीडीपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।
यसअघि गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ‘वल्र्ड इकोनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दैै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/०८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । सन् २०२२ को मुद्रास्फीति दर छ दशमलव तीन प्रतिशत रहने आकलन विश्व बैंकको छ । सन् २०२३ मा पाँच दशमलव पाँच र सन् २०२४ मा पाँच दशमलव तीन प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ । चालू आव २०७९/०८० को बजेटमार्फत सरकारले मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।
कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने आकलन पनि विश्व बैंकको छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर दुई दशमलव तीन प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १० दशमलव दुई प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, आठ दशमलव नौ र पाँच दशमलव छ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ । सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २० दशमलव २३ र १८ दशमलव ०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । आगामी दुई वर्षको आयात वृद्धिदर भने तीन दशमलव नौ प्रतिशत र चार दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया