Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीद्वारा बचत फिर्ता गर्न नसकेपछि कारोबार बन्द !

श्री लालीगुराँस सहकारीद्वारा बचत फिर्ता गर्न नसकेपछि कारोबार बन्द !


काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थप समस्याग्रस्त बनेको छ । बचतकर्ताले लामो समयदेखि फिर्ता पाउनुपर्ने रकम नपाएपछि सहकारीले आफ्नो कारोबार नै बन्द गरेको पाइएको छ ।

दशैँअघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्ताहरुलाई छठपछि मात्रै रकम फिर्ता दिने भन्दै सहकारीका कर्मचारीले आलटाल गरेर पठाएका थिए । छठ सकिएलगत्तै सोमबार बचत फिर्ता लिन पुल्चोकस्थित श्री लालीगुराँस सहकारी संस्थाको कार्यालय पुगेका दर्जनौँ बचतकर्ताहरु रकम फिर्ता नपाएपछि तनावपूर्ण अवस्थामा पुगेका छन् ।

मंगलबार पनि बचत रकम फिर्ता लिन सहकारीको कार्यालय पुगेका बचतकर्ताले एक पैसा पनि रकम फिर्ता नपाएपछि सहकारीले सिस्टमको खराबी देखाउँदै आलटाल गरेको छ । मंगलबार सहकारीको कार्यालयमा पुग्दा सुरक्षामा खटिएका एक व्यक्तिले अब ४/५ दिनसम्म सहकारीको कारोबार नहुने बताए । ‘हिजो (सोमबार)देखि कुनै पनि काम भएको छैन । भोलि (बुधबार) एकपल्ट आएर बुझ्नुहोला’, ती व्यक्तिले भने, ‘अझै ४/५ दिन कसैलाई पनि कार्यालयमा नआउनु भनिएको छ । यसरी सिस्टम बिग्रिएको घटना अहिलेसम्म थाहा थिएन । यो नै पहिलो हो ।’

सोमबार सहकारी रहेको वडाकै अध्यक्ष गोपाल महर्जनले एक व्यक्तिलाई चेक दिएका थिए । ती व्यक्तिलाई पारिवारिक शोक परेको र उक्त शोकमा हुने खर्चका लागि भनेर एक लाख रुपैयाँको सहकारीको चेक दिएका थिए । उक्त चेक समेत नसाटिएपछि ती पीडितले वडाध्यक्ष महर्जनलाई नै फोन गरेका थिए । त्यसपछि महर्जनले यस्तो अवस्थामा पनि पीडितको पैसा नदिने भन्दै पीडितको पक्षमा सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई फोन गरे ।

उनले थर्काएपछि मात्रै सहकारीले बल्लबल्ल एक लाख रुपैयाँ फिर्ता दिएको स्रोतले बताएको छ । यस विषयमा बुझ्न महर्जनलाई सम्पर्क गर्दा आफूले समन्वय मात्रै गरिदिएको बताए । अन्य विषय भने आफूलाई थाहा नभएको उनको प्रतिक्रिया थियो । त्यसो त सहकारीको कारोबार बन्द भएको विषयमा सहकारीकै फोन नम्बरमा फोन गर्दा समेत पुष्टि भयो ।

‘आज (मंगलबार) सिस्टम नै बिग्रेका कारण काउन्टर बन्द भएको हो’, एक महिलाले भनिन्, ‘भोलिदेखि रकम फिर्ता हुन्छ ।’ सहकारीका प्रमुख कार्यकारी निर्देशक तथा सीईओ सुरेन्द्र भण्डारीले सहकारी टाट पल्टिएपछि विभिन्न क्षेत्रमा रहेको सहकारीको सम्पत्ति बिक्रीमा राखेका छन् । केही सम्पत्ति बिक्री भए पनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि उनी समेत सेवाग्राहीबाट सम्पर्कविहीन भएको स्रोतले जनाएको छ ।

केही दिनअघि सहकारीले भैँसेपाटीमा रहेको केही जग्गा बिक्री गरेर कारोबार सल्टाउने प्रयास गरेको थियो । पछिल्लो समय सहकारीले मर्जरको कारणले भुक्तानी रोकिएको बताउन समेत थालेको छ । सहकारी मर्जरमा जान साधारणसभामार्फत निर्णय गरेर मात्र अगाडि बढ्नुपर्नेमा सहकारीलाई आफ्नो निजी संस्थाजसरी एकलौटी निर्णय गर्दै आएका निर्देशक तथा सीईओ भण्डारी सहकारीको सम्पत्ति बेचेर भाग्नलागेका हुन् कि भन्ने आशंका बचतकर्ताहरुले गरेका छन् । त्यही कारण उनले भैँसेपाटीमा रहेको सहकारीको जग्गा समेत बेच्नलागेको आशंका निक्षेपकर्ताहरुको छ ।

सहकारीलाई समस्याग्रस्त बनाई भएको सम्पत्ति बेचेर भाग्नकै लागि उनले सहकारी मर्जरमा गएको भन्दै बचतकर्ताहरुको रकम समेत फिर्ता गर्न छोडेका हुन् भने उनको यस अभियानमा सहकारी विभागका उच्च अधिकारीहरुले समेत साथ दिएको स्रोतको दाबी छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x