कञ्चनपुर, फागुन २१
कञ्चनपुरका विभिन्न ठाउँमा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । कञ्चनपुरमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो । शनिबार तथा सार्वजनिक विदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर, यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत व्यक्तिगत कामकाजका लागि सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा चार जना बोक्ने तथा जीप वा भ्यानमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ । पटक–पटक जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सवारी साधन सीमित कामकाजका लागि सञ्चालन गर्न निर्देशन गरिँदासमेत कञ्चनपुरमा सरकारी सवारी साधन दुरुपयोग रोकिएको छैन् । नागरिक समाज कञ्चनपुरका सहसचिव प्रभुनिधि पन्तले स्वयम कर्मचारीको नैतिकता र नियमन गर्ने निकायको उदासीनताका कारण पनि सरकारी सवारी साधनको दुरुपयोग भएको बताए । ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ, ‘पन्तले भने, ‘जबसम्म स्वतस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्, तबसम्म सवारी साधन दुरुपयोग हुन्छ ।’ दिएको जिम्मेवारीभन्दा व्यक्तिगत, व्यावसायिक कामका लागि सरकारी साधन प्रयोग भएपछि स्थानीय आक्रोसित भएका छन् ।
म १ ब २४७ नम्बरको सरकारी मोटरसाइकलले ट्राफिक निकायको उलङ्घन गर्दै चार जना बोकेर हिँडेको भेटिएको छ । उक्त सरकारी मोटरसाइकलमा दुई युवकले बीचमा दुई युवती राखेर हिँडेका थिए । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चबन्नी बेलडाँडी बजार क्षेत्रमा उक्त मोटरसाइकलमा दुई युवती लिएर दुई पुरुष घुमिरहेको पाइएको हो । केही दिनअघि शनिबार वेदकोट नगरका मेयर अशोक चन्दले सरकारी साधन व्यक्तिगत कामका लागि भारत लिएर गएका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिप्रशाद खतिवडाले सरकारी सवारी साधन दुरुपयोग नियन्त्रण गरिने बताए । प्रजिअ खतिवडाले सरकारी कर्मचारीलाई पटक–पटक निर्देशन र अनुरोध गरिएको बताए । ‘हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ’, प्रजिअ खतिवडाले भने, ‘त्यसमा अझ झन् त विदेशी मुलुकमा जाँनै हुँदैन ।’ इन्धनको नाममा लाखौँ खर्च सरकारी सवारी साधनको चरम दुरपयोग हुँदा कञ्चनपुरका स्थानीय तहमा इन्धनमा लाखाँै खर्च भएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको कामभन्दा व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा इन्धनमा लाखौँ खर्च भएको हो । ९ स्थानीय तह रहेको कञ्चनपुरका सबै स्थानीय तहमा जनप्रतिनिधि आएपछि सावारी साधन थपिएका छन् । जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् । त्यसैले पनि स्थानीय तहमा इन्धन खर्च बढेको देखिन्छ । कृष्णपुर नगरपालिकाले चालू आर्थिक वर्षको अहिलेसम्म १३ लाख रूपैयाँ इन्धनमा खर्च गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा इन्धन खरिदका लागि २८ लाख रूपैयाँ विनियोजन गरेको थियो । लालझाडी गाउँपालिकामा इन्धनमा अहिलेसम्म ८ लाख रूपैयाँ खर्च गरिएको छ । उक्त गाउँपालिकाले इन्धन खरिदका लागि २० लाख रूपैयाँ विनियोजन गरेको थियो । बेलडाँडी गाउँपालिकामा चालू आर्थिक वर्षमा इन्धन खरिदका लागि चार लाख रूपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले अहिलेसम्म सबै रकम इन्धन खरिदमा खर्च गरेको छ । वेदकोटले इन्धनका लागि चालू आर्थिक वर्षमा ५० लाख रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये अहिलेसम्म २३ लाख ३९ हजार पाँच सय ६३ रूपैयाँ खर्च गरिएको नगरपालिकाका सूचना अधिकारी शंकर भट्टले बताए । उनका अनुसार उक्त रकम नगरपालिकाका गाडी, टिपर, ट्याक्टर, जेसीबी र मटोरसाइकल प्रयोगमा खर्च गरिएको हो । ‘नगरपालिकाले वडाध्यक्ष १५ लिटर र कर्मचारीलाई मासिक १० लिटर पेट्रोल उपलब्ध गराएको छ,’ उनले भने, ‘नगरप्रमुख ÷उपप्रमुखका हकमा आवश्यकताअनुसार लिन पाउने व्यवस्था गरिएको छ ।’
शुक्लाफाँटा नगरपालिकाले चालू वर्ष तेलका लागि २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । शुक्लाफाँटामा अहिलेसम्म १५ लाख १५ हजार रूपैयाँ खर्च भइसकेको छ । त्यहाँका वडाध्यक्षले पनि मासिक २० लिटर तेल पाउँछन् । प्रमुख र उपप्रमुखलाई आवश्यकताअनुसार तेल दिने गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा वडाध्यक्षहरूले थप प्रत्येक वडामा तेलका लागि ५० हजार रूपैयाँ विनियोजन गरेको छ । यसैगरी, भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा साधनस्रोतबाट ग्राभेल, मर्मत र इन्धन शीर्षकमा एक करोड रूपैयाँ विनियोजन गरिएको छ । भीमदत्तले अहिलेसम्म उक्त शीर्षकबाट ९३ लाख रूपैयाँ खर्च गरिएको छ । त्यस्तै माहाकाली नगरपालिकामा तेलका लागि चालू आर्थिक वर्षमा ३२ लाख रूपैयाँ विनियोजन गरेको थियो । उक्त नगरपालिकाले अहिलेसम्म १० लाख १० हजार तीन सय ३८ रूपैयाँ खर्च गरेको छ । महाकाली नगरपालिकाले नगरप्रमुख÷उपप्रमुख र प्राविधिक कर्मचारीलाई आवश्यकताअनुसार तेल दिने गरेको छ भने वडा अध्यक्षलाई १५ लिटर मासिक तेल दिने गरेको छ । पुनर्वास नगरपालिकाले तेलका लागि चालू आर्थिक वर्षमा २० लाख रूपैयाँ विनियोजन गरेको छ । नगरले अहिलेसम्म एक लाख ५३ हजार पाँच सय ६० रूपैयाँ खर्च गरेको छ । लाखौँ रकम इन्धनमा खर्च भएपछि स्थानीयसमेत हैरान भएका छन् । काम कम खर्च बढी भएपछि स्थानीयले इन्धनसमेत दुरुपयोग भएको दाबी गर्दै आएका छन् । तर, कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधिले भने इन्धन र सवारी साधन कामकै लागि प्रयोग हुने र दुरुपयोग नभएको दाबी गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया