Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश १ को आर्थिक पाश्र्वचित्र निर्माण गरिने

प्रदेश १ को आर्थिक पाश्र्वचित्र निर्माण गरिने


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आगामी तीन महिनाभित्र प्रदेश एकको आर्थिक पाश्र्वचित्र निर्माण गरिसक्ने योजना सार्वजनिक गरेको छ । प्रदेश १ मा रहेका आर्थिक क्षेत्रअन्तर्गतको कृषि, उद्योग र सेवा क्षेत्रका सम्पूर्ण जानकारी समेटेर पाश्र्वचित्र तयार पारिने महासंघले जानकारी दिएको छ । प्रविधिको प्रयोग गरेर प्रदेश १ का १४ वटै जिल्लाका उद्योग वाणिज्य संघहरूमार्फत जिल्लाको आर्थिक क्षेत्रसँग सम्बन्धित सम्पूर्ण विवरण आगामी पुस महिनाभित्र संकलन गरिने र बाँकी समयभित्र प्रकाशनको तयारीको काम गरिने उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जानकारी दिएको हो ।

महासंघ प्रदेश १ द्वारा आयोजित पाश्र्वचित्र निर्माणसम्बन्धी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सही तथ्यांक नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको बताए । आर्थिक क्षेत्रलाई गतिशील बनाउन सही तथ्यांक आवश्यक रहेकोले महासंघले पाश्र्वचित्र निर्माणको काम अघि बढाएको उनको भनाइ थियो ।

पाश्र्वचित्र बनेपछि स्थानीय र बाह्य क्षेत्रका लगानीकर्ताहरूलाई प्रदेश १ मा नयाँ लगानी भित्र्याउन र लगानी थप्न सजिलो हुने उनको अपेक्षा छ । महासंघ प्रदेश १ का उपाध्यक्ष एवं केन्द्रीय सदस्य तथा प्रदेश १ को मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले आर्थिक क्षेत्रको सही तथ्यांक नभएकै कारण आर्थिक विकासको काम अघि बढ्न नसकेको जानकारी दिए । उनले महासंघको पहल र समन्वयमा विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग छलफल गरेर उत्कृष्ट आर्थिक पाश्र्वचित्र तयार गर्ने योजना अहिले आएर मात्र अघि बढाएको बताए । सही तथ्यांक र जानकारी प्राप्त भएपछि आर्थिक विकासका लागि नयाँ–नयाँ अवसरहरू समेत सिर्जना हुने उनको भनाइ थियो ।

निजी क्षेत्रले आफ्नै पहलमा पहिलो पटक बनाउन लागेको आर्थिक पाश्र्वचित्रले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने अर्थविज्ञ डा. अर्जुन बरालको भनाइ छ । उनले पनि पाश्र्वचित्रका माध्यमबाट कृषि क्षेत्रका सम्भावनाको पहिचान गर्ने, उत्पादन उद्योगको प्रवद्र्धन गर्ने र सेवा क्षेत्रअन्तर्गत पर्यटन विकासको सम्भावना पहिल्याउने काममा ठूलो उपलब्धि थपिने दाबी गरे । पाश्र्वचित्रले सबैभन्दा बढी फाइदा सरकारको नीतिनिर्माण तहसम्म पुग्ने विश्वास डा. बरालको छ ।

कार्यक्रममा विज्ञ केशर आचार्यले अध्ययन एवं तथ्यांक संकलनका आधारभूत तरिका, अध्ययनको उपयोगिता र माध्यमहरूबारे पाश्र्वचित्रका अध्ययन सहायकहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा डिजिटल माध्यमबाट तथ्यांक संकलन गर्ने तौरतरिकाबारे प्रविधिविज्ञ अविन प्रजापतिले सहजीकरण गरेका थिए भने महासंघ प्रदेश १ का सदस्य एवं होटल एसोसिएसन प्रदेश नं. १ का अध्यक्ष राजन श्रेष्ठले पाश्र्वचित्र निर्माण भएपछि प्रदेश नं. १ को पर्यटन क्षेत्रको प्रवर्द्धन हुने बताए ।

मुलुकलाई समृद्ध बनाउने भन्ने नारा विभिन्न राजनीतिक दलहरूले भन्दै आएको भए पनि त्यसका लागि आवश्यक आधारभूत जानकारी र तथ्यांक नभएको अवस्थामा महासंघसँगको समन्वयमा कम्युनिटी इन्गेजमेन्टस एन्ड आउटरिच प्रालिको प्राविधिक सहयोगमा पाश्र्वचित्र निर्माणको काम अघि बढेको महासंघ प्रदेश १ ले जनाएको छ ।

प्रदेश १ को अर्थतन्त्रको अवस्था, आर्थिक गतिविधि, उत्पादन र रोजगारीको वर्तमान अवस्था झल्काउने तथ्यांक तथा विवरण, कृषि उद्योग र सेवा क्षेत्रले गरिरहेको आय, रोजगारी एवं ती क्षेत्रमा भएको लगानी र प्रतिफल झल्काउने विवरणहरू, आर्थिक क्षेत्र र उपक्षेत्रका सवल तथा कमजोर पक्षको पहिचान गर्न आवश्यक पर्ने तथ्यांक तथा जानकारीहरूको संगालोका रूपमा पाश्र्वचित्र तयार हुने महासंघ प्रदेश १ ले जानकारी दिएको छ । उक्त कार्यक्रममा प्रदेश नं. १ मा रहेको जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x