Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरासहितको राहत कार्यक्रम आवश्यक’

‘अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरासहितको राहत कार्यक्रम आवश्यक’


काठमाण्डौँ,फागुन २१

नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरासहितको राहत कार्यक्रम ल्याउन आवश्यक रहेको बताएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे प्रतिक्रिया जनाउँदै परिसंघले कोरोना भाइरसको संक्रमण विश्वव्यापी समस्याका रूपमा आएकोले नेपालको समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने भन्दै सरकारले राष्ट्रिय महत्वका कार्यक्रमहरू नै स्थगन गरिसकेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरासहितको राहत कार्यक्रम आवश्यक रहेको बताएको हो । परिसंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अर्थतन्त्रमा देखिएका केही समसामयिक विषयहरू सुधार गर्ने प्रयास गरे पनि उद्योगीहरूले उठाउँदै आएका विविध विषयहरूको सम्बोधन हुन भने नसकेको जनाएको छ ।समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा भएको संकुचनलाई समाधान गर्न प्रयाप्त पहल कदमी नलिएको पनि परिसंघले जनाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कोरोना भाइरसको संक्रमणबाट असर पर्नसक्ने क्षेत्रहरूको पहिचान गरी त्यस्ता क्षेत्रहरूमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरूमा आवश्यकताअनुसार पुनरावलोकन गर्ने प्रावधान भने स्वागतयोग्य रहेको परिसंघले बताएको छ । साथै यस समीक्षामार्फत दुई करोड रूपैयाँसम्मको कृषि, पर्यटन, साना तथा मझौला पेशा÷व्यवसायका लागि प्रवाह हुने कर्जामा खुकुलो गरिएको प्रावधानले त्यस क्षेत्रमा केही सहजता ल्याउने परिसंघले जनाएको छ ।

सुक्ष्म निगरानीको प्रावधानलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जामा पुनरावलोकन गरिने प्रावधान यस मध्यावधि समीक्षाले लिएको छ । तर हाल देखापरेको कोरोना भाइरस, बेलाबखतका प्राकृतिक प्रकोप तथा उद्योगहरूको आफ्नो प्रकृतिलगायत विविध कारणले नेपालमा सञ्चालित उद्योगहरूलाई नकारात्मक असर पर्ने भएकोले परिसंघले विगतदेखि नै उठाउँदै आएको निश्चित उद्योगहरूलाई सुक्ष्म निगरानीको प्रावधान लागू हुने अवधि कम्तीमा ५ वर्षको गरिनु आवश्यक रहेको परिसंघले बताएको छ । यस्तै नेपाल आत्मनिर्भर हुँदै गएका कृषिलगायत विभिन्न उद्योगहरूको उत्पादन वृद्धि तथा वस्तु वितरण प्रणालीको सुधारका लागि राष्ट्र बैंकले यस अर्धवार्षिक समीक्षामार्फत कर्जा विस्तारमा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएकोमा यस क्षेत्रमा नीतिको प्रभावकारी कायान्वयन हुनुपर्नेमा परिसंघले जोड दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x