Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालभित्रै रोजगारीको सम्भावना थप कमजोर

नेपालभित्रै रोजगारीको सम्भावना थप कमजोर

९३ प्रतिशतले बढ्यो वैदेशिक रोजगारी


काठमाडौं । बाध्यात्मक रोजगारी बनेको वैदेशिक रोजगारीमा जाने युवाको संख्या यस वर्ष पनि बढेको छ । यसले देशमा रोजगारीका सम्भावनाहरू थप कमजोर बन्दै गएको प्रस्ट पारेको छ ।

चालू आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा एक लाख ९६ हजार ७५ जना युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिभन्दा ९६ दशमलव ८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनाको अवधिमा एक लाख एक हजार एक सय ३८ जना युवाहरूले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए ।

नेपाली युवाहरूका लागि श्रम स्वीकृति लिएका युवाहरू गन्तव्य मुलुकको रुपमा खाडी मुलुक कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, बहराइन, कुवेत र ओमन रहेको पाइन्छ । यस्तै मलेसिया पनि गन्तव्य मुलुकको रुपमा रहेको छ । यसका साथै दक्षिण कोरिया, जापान, युरोपियन मुलुक पोर्चुगल, बेलायत लगायतका मुलुकमा समेत युवाहरू गएको पाइन्छ । सोही क्रममा युवाहरू साउदी अरबबाट फर्केएिर मलेसिया जाने गरेको पाइएको छ । पछिल्लो समय भने कतारमा आयोजना हुन गइरहेको विश्वकप २०२२ का लागि नेपाली युवाहरू त्यहाँ जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसका साथै मलेसिया जानेको संख्यामा समेत वृद्धि भएको विभागका अधिकारीहरूले बताएका छन् ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा क्रमशः ६३ हजार ३९ जना, ७६ हजार चार सय तीन जना र ५६ हजार छ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको साउन, भदौ र असोजमा भने क्रमशः २५ हजार चार सय २७ जना, ३६ हजार ४० जना र ३९ हजार छ सय ७१ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमध्ये करिब ९० प्रतिशत पुरुष र बाँकी महिला रहेको बताइएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ एक लाख ६६ हजार छ सय ९८ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा एक लाख ५५ हजार दुई सय ४२ जना पुरुष र ११ हजार चार सय ५६ जना महिला थिए । आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ६८ हजार चार सय ३३ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा तीन लाख ४० हजार पुरुष र २८ हजार चार सय ३३ जना महिला थिए भने आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार आठ सय २८ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा चार लाख ७६ हजार सात सय पाँच जना पुरुष र ३२ हजार एक सय २३ जना महिला रहेका छन् ।

यसका साथै विदेश जानेको संख्यामा वृद्धि हुनुको अर्को कारण भनेको विभिन्न मुलुकको रोजगारदाताको रोजाइमा नेपालीहरू पर्नु हो । जसमा इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि नेपाल सरकार र इजरायली पक्षबीच भएको सम्झौताअनुरुप युवाहरूलाई इजरायले रोजगारी प्रदान गर्नु, बेलायतले शून्य लागतमा नेपाली नर्सहरू लैजाने तयारी गर्नु समेत छ । यसका साथै संयुक्त अरब इमिरेटस (यूएई) सरकार र नेपाल सरकार बीच यूएईको विभिन्न पाँच क्षेत्रमा श्रमिको भर्ना प्रक्रिया निःशुल्क गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ अघि बढाउन सहमत भएको छ । यूएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्ण रुपमा निःशुल्क गर्ने विषयक छलफलमा यूएई सहमत भएको हो । विभिन्न समयमा गएका नेपालीहरू गरी यूएईमा हाल करिब साढे तीन लाख नेपालीहरू छन् । उनीहरू विभिन्न क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।

यस्तै, कतार विश्वकप २०२२ का लागि विभिन्न स्थानमा रंगशाला बनाउने क्रममा आप्रवासी कामदारहरूमाथि श्रम शोषण गरेको पाइएको छ भने यस्तो अवस्थामा समेत कतार जानका लागि युवाहरूले श्रम स्वीकृति लिएका छन् । विश्वकप फुटबल सुरु हुन करिब एक महनिाको समय बाँकी हुँदा मानवअधिकार संस्थाहरूले फिफा र कतारलाई घरेलु र सुरक्षा क्षेत्रमा कार्यरत धेरै विदेशी श्रमिकमाथि हुने शोषणको अन्त्य नभएको भनेर चिन्ता जनाएको एमनेस्टी इन्टरनेशनले आफनो प्रतिवेदनमा भनेको थियो । एमनेस्टीको प्रतिवेदनले कतारले विश्वकपको तयारीको लागि रंगशाला निर्माणको क्रममा आप्रवासी कामदारमाथि श्रमशोषण गरेको जनाएको छ ।

आप्रवासी कामदारमा नेपाल, भारत, बंगलादेश र फिलिपिन्सको रहेको बताइएको छ । यसैबीच कतारले श्रम सुधार कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यसमा सुधार नहुँदा नेपाली लगायत थुप्रै आप्रवासी कामदार आफनो अधिकारबाट वञ्चित हुनपुगेका छन् । यति हुदाँ हुदै पनि युवाहरू कतार जानको लागि श्रम स्वीकृति लिएको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x