Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध नाकाको प्रयोग गरी भारतबाट चामल आयात

अवैध नाकाको प्रयोग गरी भारतबाट चामल आयात


विराटनगर । भारत सरकारले निर्यात गर्दै आएको धान तथा चामलमा केही समयमा प्रतिबन्ध लगाएपछि नेपालमा अवैध बाटो हुँदै ट्रेडिङ कारोबारीहरूले चामल भित्र्याउने गरेको पाइएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुुँदै आइरहेका खाद्य उद्योगका लागि दैनिक आवश्यक पर्ने २० हजार मेट्रिक टन धान पछिल्लो समय आयात हुन नसकेपछि ट्रेडिङ कारोबारीले धान चामल आयातको जिम्मा लिएका थिए ।

पछिल्लो समय भारत सरकारले धान तथा चामलको निर्यात खुलाइसके पनि विचौलिया र ट्रेडिङ कारोबार गर्ने कारोबारीले नेपाल भारतका सीमामा रहेका अवैध नाकाको प्रयोग गरी चामल आयात गरिरहेका छन् । अवैधरूपमा चामल आयात बढेकोले खाद्य उद्योग सञ्चालनमा समस्या आइरहेको उद्योगीहरूको गुनासो छ । विगतको छ महिना अगाडिदेखि भारत सरकारले भारतमा उत्पादन हुने चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि ट्रेडिङ कारोबारीले चामलको मूल्य समेत ह्वात्तै बढाएका थिए । अवैध नाकाको प्रयोग गरी चामाल आयात गर्ने ट्रेडिङ कारोबारीले चामलको कारोबारमा कच्चा विलको अत्यधिक प्रयोग गर्नेगरेका छन् । एक्कासि बजारमा चामलको मूल्य अत्यधिक बढेका कारण सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुँदै आएका चामल उद्योगहरूले पनि आफ्नो उत्पादन कटौती गरेका थिए ।

चामलजस्तो खाद्यवस्तुमा समेत ट्रेडिङ कारोबारीले अत्यधिक मूल्य कायम गरी बिक्री गर्दा उपभोक्ताहरू महंगीको मारमा परेको खुद्रा व्यवसायीहरूले बताएका छन् । भारतबाटै हुने चामलको आयात भारत सरकारले नै प्रतिबन्ध लगाएपछि विचौलिया र ट्रेडिङ कारोबारीले कमाउने अभियान नै सञ्चालन गरेका थिए । स्रोतका अनुसार विराटनगर महानगरपालिका गोश्वारारोड ठेगाना कायम गरी आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम रहेको सोना ट्रेडर्सले मोरङका विभिन्न ठाउँमा रहेको खुला सीमाको फाइदा उठाएर प्रतिबन्धका समयमा आफ्नो कारोबारलाई तीव्रता दिएको हो ।

उक्त ट्रेडिङ फर्मले सुनसरीको दुहबीमा आफ्नो उद्योग नै बन्दगरी विभीन्न अवैध नाकाबाट चामलको आयात गरेको पनि खुुद्रा व्यवसायीहरूको दाबी छ । उक्त ट्रेडिङ फर्मले भारतबाट आयात गरी ल्याएको चामल स्टोक गर्नका लागि विराटनगरमा रहेको पानीट्यांकी चोकमा सोरुमसहितको भित्री गोदाम भाडामा लिएर राखेको पनि स्रोतको दाबी छ । उक्त चामल बिक्री गर्नका लागि सोना ट्रेडर्सका सञ्चालक जितेन्द्र कुुमार तापडियाले आफ्नो ट्रेडिङ फर्मको बिक्री बिल प्रयोग नगरी कच्चा बीलका भरमा चामलको बिक्री गर्ने गरेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०५७ सालमा ३०१०५६११ मा ट्रेडिङ फर्म दर्ता कायम गरेको सोना ट्रेडर्सले वार्षिक ५० करोडभन्दा माथि नै कारोबार गर्दै आएको छ । तर पनि उसले आर्थिक वर्ष ०७८/०७९ मा वार्षिक पाँच करोड मात्रको कारोबार देखाएर जम्मा आयकरबापत दुई लाख मात्रै राजस्व बुझाएको छ । त्यसपछि अहिले सो व्यावसायिक फर्म राजस्वको निगरानीमा रहेको स्रोतले बताएको छ ।

सञ्चालक तापडिया समयअनुसारको चामलदेखि तेललगायत खाद्यान्यको कारोबार गर्न अत्यन्तै खप्पिस रहेको स्थानीय व्यापारी बताउँछन् । उनको कारोबारअनुसार व्यवसायी तापडियाले वार्षिक ५० लाखभन्दा माथि नै राजस्व बुझाउनुपर्ने हुँदाहुँदै पनि राजस्वको कानुनी छिद्रा समाएर न्यून आयकर मात्रै बुझाएर उन्मुक्ति पाउँदै आएका छन् । सरकारी राजस्व अत्यन्तै कम बुझाएका तापडियाले आफ्नो हैसियत भने विराटनगरमा अर्बौँको दर्जामा पु-याएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x