Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ’

‘सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ’


डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भाषणले मात्रै सीमा विवाद समाधान नहुने बताए ।

‘भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ’, उनले भने । चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने उनको भनाइ थियो । उनले भने, ‘भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।’ राजनीतिक जीवनको सुरुआतबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताए । बिहीबारदेखि गृहजिल्लामा रहेका देउवाले शनिबार दुई चुनावीसभालाई सम्बोधन गरेका थिए ।

जिल्लाको अजयमेरुको भद्रपुर र भागेश्वरको रूपालको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई बढी चिन्ता हुने दाबी गरे ।

प्रधानमन्त्री देउवाले डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्दै भौतिक र सामाजिक विकास अगाडि बढेको र अब आर्थिक समृद्धिका लागि पहल भइरहेको स्पष्ट पारे । ‘शिक्षामा सुधार ल्याउन मेडिकल कलेज र आधुनिक प्राविधिक शिक्षामा जोड दिन्छु । पश्चिमसेती, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रलगायत सिञ्चाइ, खानेपानी र विद्यालय निर्माणजस्ता विकासका कुरा अगाडि बढेको छ’, उनले भने । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x