Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा सबैभन्दा ठूलो टाइल्स उद्योग स्थापना हुने

नेपालमा सबैभन्दा ठूलो टाइल्स उद्योग स्थापना हुने


काठमाडौं । नेपालमा सबैभन्दा ठूलो टाइल्स उद्योग स्थापना हुने भएको छ । भारतीय टाइल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पले मिलेर हालसम्मकै सवैभन्दा ठूलो टाइल्स उत्पादन उद्योग स्थापना गर्न लागेका हुन् ।

सिरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखानाकोे उत्पादन क्षमता आठ लाख वर्गमिटर हुनेछ । उक्त दुई कम्पनीबीच नेपालमा ठूलो टाइल्स उत्पादन उद्योग स्थापना गर्ने सम्बन्धमा आइतबार सम्झौता समेत भएको छ । दुवै समूहको विशिष्ट प्रतिनिधिहरूको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर भएको हो । रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ । करिब चार अर्बको लगानी रहने उक्त उद्योग सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । नवनिर्मित कारखाना भविष्यमा आफू निर्यातका लागि तयार हुने बताइएको छ । नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ यो उद्योग स्थापना हुन लागेको हो । यसबाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चापदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिनेछ ।

कजारिया सेरामिक्स लिमिटेडका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल कम्पनीको लागि सधैँ महत्वपूर्ण बजार भएको बताए । नेपालमा आफ्नो कम्पनी दुई दशकभन्दा बढी समयदेखि उपस्थित रहेको उनको भनाइ थियो । नेपालमा नै उद्योग खोल्ने सम्झौताले नेपालको बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने उनले बताए । यो परियोजना तत्काल सुरु गरी आउँदो २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने उनको भनाइ छ । उनले भने, ‘यो सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमूना उद्योग बन्नेछ जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरू प्राथमिकताका साथ प्रयोजन गरिनेछ ।’ यस्तै रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पु¥याउने उल्लेख गरे । यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाइल्स र अन्य उत्पादनहरू देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने उनको भनाइ छ ।

रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहने बताउँछन् । यो परियोजनाको सुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना गर्ने र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरू पनि भित्रिनेमा आफू विस्वस्त रहेको उनको भनाइ छ ।

भारतीय कम्पनी कजारिया सेरामिक्स भारतमा सिरेमिक/भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । यसको भारतमा आठ उत्पादन कम्पनी छन्, जुन उत्तर प्रदेशको सिकन्दरावाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् । यसको उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्ग मिटर रहेको छ । ३४ वर्ष पहिले स्थापना भएको कजारिया आफ्नो कडा परिश्रम, नवोत्पादन र ग्राहकहरूको साथले अघि बढेको छ ।

कजारियाले सिरेमिक वाल र फ्लोर टाइल्सहरूका तीन हजारभन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ । साथै भिट्रिफाइड टाइल्स, डिजाइनर टाइल्स र अरु थुप्रै उत्पादनहरू बजारमा भित्र्याएको छ । यस्तै रमेश कर्प बहुआयामिक एवं ठूला निजी उद्योग तथा व्यापारिक समूहमध्ये एक हो । रमेश कर्प आयात निर्यात, सञ्चार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत्, खानी आदिमा प्रत्यक्ष संलग्न भई आइरहेको प्रसिद्व कम्पनी हो । आफ्ना सबै व्यावसायिक अभ्यासहरूमा ‘फरवार्ड टुगेदर’को मूल दर्शनलाई आत्मसात् गर्दै आफ्ना ग्राहकहरू, कर्मचारीहरू, लगानीकर्ताहरू, इकोसिस्टम साझेदारहरू साथै सम्पूर्ण राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकांक्षा राखेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x