Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाइनान्सहरूमा झण्डै १४ प्रतिशतसम्म कर्जा निष्क्रिय

फाइनान्सहरूमा झण्डै १४ प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं । फाइनान्स कम्पनीहरुमा झण्डै १४ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा फाइनान्स कम्पनीहरुले वित्तीय कारोबार सञ्चालन गर्दै आएकोमा हालसम्म १५ वटा फाइनान्सहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा उक्त परिमाणमा कर्जा निष्क्रिय देखिएको हो । सोअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा नेपाल फाइनान्समा देखिएको छ भने सबैभन्दा कम निष्क्रिय कर्जा मल्टिपर्पोस फाइनान्समा देखिएको छ । नेपाल फाइनान्समा १३ दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिँदा मल्टीपर्पोसमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी दुई फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २७ दशमलव ८३ र चार दशमलव १५ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा जानकी, गोर्खाज र समृद्धि फाइनान्समा भने क्रमशः १० दशमलव शून्य दुई, सात दशमलव ४२ र छ दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव १५, नौ दशमलव ३७ र चार दशमलव ५८ प्रतिशत रहेको थियो । बेष्ट र प्रोग्रेसिभ फाइनान्समा भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः चार दशमलव ५० र चार दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव पाँच र एक दशमलव ३१ प्रतिशत रहेको थियो । रिलायन्स फाइनान्समा भने पछिल्लो अवधिमा तीन दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा रिलायन्समा यस्तो कर्जाको अनुपात चार दशमलव ५६ प्रतिशत रहेको थियो ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, पोखरा र सेन्ट्रल फाइनान्समा पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ८१, दुई दशमलव ६५ र दुई दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ७२, दुई दशमलव शून्य सात र दुई दशमलव शून्य प्रतिशत रहेको थियो । यसैगरी मञ्जुुश्री र गुडविल फाइनान्समा पनि क्रमशः दुई दशमलव ४४ र दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात एक दशमलव ९१ र तीन दशमलव ४० प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र आईसीएफसी फाइनान्समा क्रमशः एक दशमलव ४२ प्रतिशत र एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शून्य दशमलव ७२ र एक दशमलव ७८ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x