Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुणस्तरहीन कम्पनीलाई औषधि आयातको अनुमति दिन महानिर्देशक भट्टराईको दबाब

गुणस्तरहीन कम्पनीलाई औषधि आयातको अनुमति दिन महानिर्देशक भट्टराईको दबाब


काठमाडौं । नेपाली औषधि बजारको नियामक निकाय औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा औषधि आयात गर्न अनुमति पाएका कम्पनीहरुमा गरिएको अडिटमा गुणस्तरहीन पाउँदापाउँदै प्रतिवेदन सच्याउन दबाब दिएका छन् ।

नेपालमा औषधि बिक्रीका लागि दर्ता भई २७१ वटा विदेशी कम्पनीहरुले अनुमति मागे पनि ५८ विदेशी कम्पनीहरुको नाम सर्टलिस्टमा निकालेको विभागले कम्पनीको गुणस्तर परीक्षण (अडिट) गरेको थियो ।

विभागले नेपालमा औषधि आयातका लागि ५८ वटा विदेशी कम्पनीको डब्लुएचओ जीएमपी गाइडलाइन अडिटका लागि गत असार ६ मा स्वास्थ्य सचिवस्तरीय निर्णयबाटसम्बन्धीत औषधि कम्पनीको अडिटका लागि ४५ दिनको समयसीमा दिँदै अडिटर टोली परिचालन गरेको थियो ।

सो टोलीले एक दर्जनभन्दा बढी कम्पनीहरु गुणस्तरहीन रहेको रायसहितको प्रतिवेदन समयअगावै बुझाएपछि महानिर्देशक भट्टराईले सो प्रतिवेदन सच्याएर पेश गर्न निर्देशन दिएपछि अडिटरको टोली अख्तियार जाने तयारी गरेको हो ।

विभाग उच्च स्रोतका अनुसार दर्ता भएका २७१ वटा कम्पनीहरुमध्ये कतिपय गुणस्तरीय कम्पनीहरु रहे पनि महानिर्देशक भट्टराईले उनका सहयोगी एवम् विभागका सूचना अधिकारी समेत रहेका सन्तोष केसीको मिलेमतोमा आफूलाई आर्थिक सहयोग गर्ने आफ्ना अनुकूलका कम्पनीहरु सर्टलिस्टमा राखेर नाम प्रकाशित गरेका थिए ।

एक दर्जनभन्दा बढी मानवस्वास्थ्य प्रतिकूलका औषधि उत्पादन गर्ने कम्पनीलाई औषधि आयातको अनुमति दिन नहुने आशयको रिपोर्ट बुझाउने अडिटर टोलीलाई महानिर्देशक भट्टराईले आफ्नै कक्षमा बोलाएर जसरी पनि ती कम्पनीको प्रतिवेदन सच्याउन र कम्पनीको उत्पादन उच्च गुणस्तरको रहेको प्रतिवेदन आफैँले तयार गरी प्रतिवेदनमा हस्ताक्षर गर्न दबाब दिएकै कारण ४५ दिने कार्यादेशअनुरुप बुझाइएको प्रतिवेदन ९० दिन पुग्दा समेत सार्वजनिक नगरेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक अडिटरले बताए ।

अडिटरहरुले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने औषधि गुणस्तरीय भन्न नसक्ने र महानिर्देशक भट्टराईको दबाब समेत आइरहँदा अख्तियारमा उजुरी दिने मानसिकता बनाएका हुन् । ‘यस्तै दबाब आइरह्यो भने अख्तियार गुहार्नुको विकल्प छैन’, एक अडिटरले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x