Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबहुउद्देश्यीय सहकारीसंघमा १ अर्ब बढी हिनामिना

बहुउद्देश्यीय सहकारीसंघमा १ अर्ब बढी हिनामिना


काठमाडौं । बहुउद्देश्यीय सहकारी संस्थाहरुले बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा करोडौँ रुपैयाँ जम्मा गरेका छन् । संघको आठौँ प्रतिवेदनअनुसार कुल पुँजी नै ६५ करोड रुपैयाँभन्दा माथि छ ।

नवौँ वार्षिक साधारणसभा विभिन्न कारण देखाउँदै रोकिए पनि यो रकम बढेर एक अर्बभन्दा बढी पुगिसकेको संघकै एक अधिकारी बताउँछन् । तर, संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मनोमानी र अनियमितता गर्दा अहिले संघले सहकारीलाई एक पैसा पनि फिर्ता दिन नसक्ने अवस्था सिर्जना भएको छ ।

सहकारीहरुले संघमा जम्मा गरेको एक अर्ब रुपैयाँभन्दा बढी रकम कहाँ पुग्यो भन्ने प्रश्न उठेको छ । सर्लाहीमा कार्यालय रहेको मनकामना बहुउद्देश्यीय सहकारी संस्थाका सन्तोष श्रेष्ठले पनि बहुउद्देश्यीय सहकारी संघबाट ६० लाख रुपैयाँ पाउनुपर्ने थियो ।

दशैँअगाडि नै सहकारीमा बचतकर्ताहरुले रकम फिर्ता माग्न आएपछि उनी काठमाडौं हानिए । आफूहरुले जम्मा गरेको ६० लाख रुपैयाँ फिर्ता पाऊँ भन्दै उनले बहुउद्देश्यीय सहकारी संघको कार्यालयमा पुगे । तर, संघले उनको मनकामना सहकारीलाई एक पैसा पनि दिन सकेन । यता बचतकर्ताले तनाव दिएपछि श्रेष्ठले बहुउद्देश्यीय सहकारी संघविरुद्ध सहकारी विभागमा उजुरी दिनेसम्मको तयारी थालेपछि अध्यक्ष सुरेन्द्र भण्डारीले तिहारपछि २५ लाख रुपैयाँ दिने वचन त दिए तर मंगलबार उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा हालसम्म पनि एक पैसा पनि हात नलागेको बताए ।

उनको मात्रै होइन अधिकांश बहुउद्देश्यीय सहकारी संस्थाहरुले हालसम्म पनि संघमा बचत राखेको एक पैसा पनि फिर्ता पाएका छैनन् । श्रेष्ठले २० लाख रुपैयाँ फिक्स डिपोजिटमा राखेका कारण आगामी असारमा मात्रै त्यो रकम पाउने र बाँकी रहेको रकम तिहारपछि नै दिने सहमति भएपछि आफू मुद्दा मामिलाबाट पछाडि हटेको बताए ।

बहुउद्देश्यीय सहकारी संघको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले सहकारीहरुलाई पैसा फिर्ता दिइरहेको बताए । तर, यथार्थमा भने सहकारी संघभित्रको करोडौँ रकम अनियमितता भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार संघका अध्यक्ष भण्डारीले संघको करोडौँ रकम अपचलन गरी आफू कार्यकारी निर्देशक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा लुकाएका छन् । पुल्चोकस्थित केन्द्रीय कार्यालयअगाडि नेवारी समुदायको सभ्यतासँग जोडिएको समय फल्चा निर्माण गर्न नदिन षड्यन्त्र गरेको खुलासा भएपछि ललितपुरका आदिवासी नेवारी समुदायले त्यतिबेला नै साढे चार अर्ब रुपैयाँ बचत रकम फिर्ता लगेका थिए ।

उक्त रकम फिर्ता लगेपछि भण्डारी टाट पल्टने बाटोमा पुगेका थिए । सहकारीमा आउनेहरुलाई संघकै करोडौँ रकम अपचलन गरेर फिर्ता गरेर केही समयको गर्जो टारेका थिए । तर, यतिबेला संघको पैसा पनि सकिएको र सहकारी समेत टाट पल्टिएर बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि उनी सम्पर्कविहीन भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ अनुसार बहुउद्देश्यीय सहकारी संस्थाहरुको संख्या चार हजार तीन सय ७१ रहेको छ । २०७७ पुस १० गतेसम्म संघमा जम्मा तीन सय ४३ सहकारी मात्रै आबद्ध छन् । बाँकी रहेका ३६ सय सहकारी संघमा आबद्ध छैनन् । एक चौथाइ सदस्य पनि संघमा आबद्ध नहुँदा संघ नै गैरकानुनी हुन आउँछ ।

सहकारी ऐनको बर्खिलाप गर्दै संघका अध्यक्ष भण्डारीले आर्थिक अपचलन गर्नकै लागि अन्य सहकारीलाई समस्यामा परेको एक सहकारी अभियन्ता बताउँछन् । सहकारीभित्र आर्थिक सुशासनको माग गरेपछि संघकै सचिव माधव तिल्सिनालाई षड्यन्त्रपूर्वक तरिकाले जेल कोचिएको ती व्यक्तिको आरोप छ ।

आर्थिक वर्ष २०७७/०७८ को आर्थिक बजेट वक्तव्यअनुसार २०७८ असार ३१ गतेसम्म बचत हिसाब नै एक अर्ब चार करोड ३३ लाख १८ हजारभन्दा बढी छ । दुई वर्षअघि नै एक अर्बभन्दा बढी रकम बचत रहेको संघले अहिले एक पैसा पनि फिर्ता दिन नसक्ने अवस्थामा पुग्नुलाई सबैले शंकास्पद रुपमा हेरेका छन् । आर्थिक अपचलनको समाचार प्रमाणसहित प्रकाशित गरे पनि पत्रिकामा खण्डन पठाउने, मुद्दा हालेर भुलाउने प्रयास भण्डारीले गर्दै आएका छन् । यद्यपि प्रमाणसहितको समाचार आर्थिक दैनिकले प्रकाशित गर्दै आएको छ । पहुँच र प्रभावको आधारमा सहकारीमा वितण्डा मच्चाउने काम भण्डारीले गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x