Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन महिनामा चार खर्बको आयात हुँदा ४१ अर्बको मात्र निर्यात

तीन महिनामा चार खर्बको आयात हुँदा ४१ अर्बको मात्र निर्यात


काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा कुल आयात, कुल वस्तु निर्यात र वैदेशिक व्यापारघाटा सबैमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी पहिलो तीन महिनाको प्रतिवेदनअनुसार कुल वस्तु आयातसँगै निर्यात व्यापारमा पनि गिरावट आएको हो ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा कुल वस्तु निर्यात ३५ दशमलव सात प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने यस्तो निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत चीनतर्फ भएको निर्यात क्रमशः ४५ प्रतिशत र ३५ प्रतिशतले घटे पनि अन्य मुलुकतर्फको निर्यात पाँच प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, तयारी पोशाक, चियालगायतका वस्तुको निर्यात बढे पनि चालू आवको पछिल्लो अवधिमा सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार कुल वस्तु आयात भने पछिल्लो अवधिमा १६ दशमलव दुई प्रतिशतले घटेर चार खर्ब एक अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव आठ प्रतिशत, १६ दशमलव सात प्रतिशत र १९ दशमलव दुई प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, कोइलालगायतका वस्तुको आयात बढे पनि सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कच्चा सोयाविन तेल, एमएस तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात पछिल्लो अवधिमा घटेको छ । यसैगरी आयाततर्फ पनि सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा पनि कमी आएको छ । चालू आवको पछिल्लो तीन महिनामा कुल वस्तु व्यापारघाटा भने १३ दशमलव एक प्रतिशतले कमी आई तीन खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव छ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आवको पछिल्लो तीन महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४ अर्ब १७ करोडबराबरको भएको राष्ट्र बैंकको भनाइ छ ।

खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँ घाटामा
खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोडले घाटामा रहेको थियो राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय १० दशमलव चार प्रतिशतले वृद्धि भई ११ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच अर्ब ४२ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ६२ दशमलव तीन प्रतिशतले वृद्धि भई २६ अर्ब चार रुपैयाँ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १६ अर्ब चार करोड रहेकोमा शिक्षातर्फको व्यय आठ अर्ब ९२ करोेड रहेको रहेको राष्ट्र बैंकको भनाइ छ ।

चालू खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालू आवको असोज मसान्तसम्ममा चालू खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको थियो । यसैगरी चालू आवको पछिल्लो तीन महिनामा पुँजीगत ट्रान्सफर ३४ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब सात करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा नौ करोड १८ लाखले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ ।

रेमिट्यान्समा १६ दशमलव आठ प्रतिशतले वृद्धि, तीन महिनामा भित्रियो दुई खर्ब २१ अर्ब पाँच करोड रुपैयाँ
चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा विप्रेषण अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आवको असोज मसान्तसम्मको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह १६ दशमलव आठ प्रतिशतले वृद्धि भई दुई खर्ब ८१ अर्ब पाँच करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव एक प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव नौ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव एक प्रतिशतले घटेको थियो । प्रतिवेदनअनुसार चालू आवको पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय २३ दशमलव एक प्रतिशतले वृद्धि भई एक लाख ४७ हजार नौ सय ३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६ दशमलव दुई प्रतिशतले वृद्धि भई ५७ हजार आठ सय ६१ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय १९ दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब १० अर्ब ४३ करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात दशमलव छ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति साढे दुई प्रतिशतले वृद्धि
विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी यही असोज मसान्तसम्मको प्रतिवेदनअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको हो ।

प्रतिवेदनअनुसार अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा शून्य दशमलव छ प्रतिशतले कमी आई नौ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकका संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा नौ दशमलव तीन प्रतिशतले कमी आई एक खर्ब ४४ अर्ब ६२ करोड रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव आठ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति नौ महिना छ दिनको वस्तु आयात र आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x