Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसामाजिक सञ्जालबाट प्रचार सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन

सामाजिक सञ्जालबाट प्रचार सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन


काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचनसम्बन्धी सबै प्रचारसामग्री हटाउन राजनीतिक दल तथा सबै उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

‘मंसिर १ गते राति १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मस्तिष्क मन्थनलगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न वा नगराउन तथा फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्जालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालाहरूलाई निर्देशन दिइन्छ’, निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकपछि बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगको अनुगमन समितिले सरकारलाई पनि उक्त कार्यको अनुगमन गर्न निर्देशन दिएको छ । ‘निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई आग्रह गरिएको छ’, आयोगले विज्ञप्तिमा भनेको छ ।

मंसिर १ गते बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक सञ्जालमा नराख्न, सेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई पनि आह्वान गरेको छ ।

कसैले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीत निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा (७) बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतहरूलाई पनि निर्देशन दिएको छ । उपदफा ७ बमोजिम २५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिनेखालका एकै रङ वा किसिमका सांकेतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टिकरलगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न पनि आयोगले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।
सोही दफाको उपदफा (७) मा सो विपरीतका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगको अनुगमन समितिको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको र २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मंसिर १ गते राती १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्न नपाइने भएकोले उल्लिखित कानुनी व्यवस्था तथा निर्वाचन आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गर्न उक्त निर्देशन दिएको हो ।

समानुपातिक उम्मेदवारलाई परिचयपत्र
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ । आयोगले बिहीबार उक्त जानकारी दिएको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उम्मेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उम्मेदवारहरूलाई आयोगको वेबसाइटमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्दसूचीमा उल्लिखित मतदाता भएको प्रदेशअन्तर्गतकोे जिल्लामा त्यस्तो परिचयपत्र दिन लागेको हो ।

आयोगका अनुसार त्यस्ता उम्मेदवारलाई आफ्नो जिल्लाअन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्रबमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x