Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको निक्षेपमा सामान्य वृद्धि कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत

बैंकिङ क्षेत्रको निक्षेपमा सामान्य वृद्धि कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत


काठमाडौँ । बैंकिङ क्षेत्रको निक्षेप सामान्यरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप शून्य दशमलव चार प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक दशमलव दुई प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप आठ दशमलव दुई प्रतिशतले बढेको छ । २०७९ असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो अंश क्रमशः सात दशमलव सात प्रतिशत, ३४ दशमलव चार प्रतिशत र ५० दशमलव चार प्रतिशत रहेको थियो । २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७ प्रतिशत रहेको छ । २०७८ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४० दशमलव पाँच प्रतिशत रहेको थियो ।

राष्ट्र बैैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा सात दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ । २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव नौ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव एक प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव दुई प्रतिशत र ३५ दशमलव आठ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह दुई दशमलव छ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह शून्य दशमलव तीन प्रतिशतले बढेको छ । २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव सात प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव दुई प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७८ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव छ प्रतिशत र १२ दशमलव तीन प्रतिशत रहेको थियो ।

चालू आवको पछिल्लो तीन महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव नौ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव आठ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह एक दशमलव सात प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा चार दशमलव दुई प्रतिशतले, ओभरड्राफ्ट कर्जा चार दशमलव आठ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा दुई दशमलव आठ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा तीन प्रतिशतले र रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) दुई दशमलव सात प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज र मार्जिन प्रकृतिको कर्जा भने क्रमशः एक दशमलव पाँच र पाँच दशमलव दुई प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

५१ खर्ब ८४ अर्ब रुपैयाँ पुग्यो कुल निक्षेप
बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुको उक्त परिमाणमा कुल निक्षेप कायम गरेका हुन् ।

बैंकिङ प्रणालीमा रहेको कुल निक्षेप रकममध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप रकम भने ४५ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने छ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही कात्तिक मसान्तसम्ममा बैंकिङ प्रणालीमा रहेको कुल कर्जा रकम भने ४७ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र रहेको कुल निक्षेप ४२ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा रहेको कुल निक्षेप रकम पाँच खर्ब ४५ अर्ब रुपैंयाँ रहेको छ ।

No description available.


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x