Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुख्य राजनीतिक दलका शीर्ष नेता र प्रमुख निर्वाचन आयुक्तले गरे मतदान

मुख्य राजनीतिक दलका शीर्ष नेता र प्रमुख निर्वाचन आयुक्तले गरे मतदान


काठमाडौं । आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको क्रममा छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार ६१ प्रतिशत मत खसेको छ । मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले आ–आफनो क्षेत्रबाट मतदान गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै जन्मथलो गन्यापधुरा गाउँपालिका– १ को अशिग्राम माध्यमिक विद्यालय रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरे । बिहानको १० बजेर २० मिनेटमा मतदान गरेका उनले सबै नागरिकलाई मतदानमा सहभागी हुन अनुरोध समेत गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरे । अध्यक्ष प्रचण्डले चितवनको नेपाल पुलिस स्कुल, शान्तिपुर ’क’ केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ८ बजे मतदान गरेका हुन् ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान लगत्तै ओलीले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे । आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउनेमा विश्वसत रहेको उनले बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरस्थित श्रीराम जानकी कन्या आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरे । गौरस्थित राम जानकी प्रावि नेता नेपालले बिहान मतदान गरेका हुन् । उनले मतदानपश्चात् निर्वाचनको बेला आचारसंहिताको चरम उल्लंघन भएको भन्दै त्यसलाई कडाइका साथ रोक्नु पर्ने बताएका छन् । उनले भने, ‘अरु सबै त ठीकै थियो, खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर सुनेँ । रातभरी पनि पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहिताको चरम उल्लंघन गरेको, राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता देखियो ।’

यस्तै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरे । जसपा अध्यक्ष उपेन्द्र यादवले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञानभवन मतदान केन्द्रबाट मतदान गरे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि मतदान गरे । नेकपा एमालेसँग चुनावी तालमेल गरेर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लिङदेनले हल्दिबारी गाउँपालिका–१ नम्बर वडा कार्यालय गोलधाप मतदान केन्द्र (ख) बाट मतदान गरेका हुन् ।

यसैबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न पाएनन् । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका उनी बाग्लुङमा भएका कारण मतदान गर्न नपाएका हुन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर–५ स्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित मतदान केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरे । उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् ।

यस्तै, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेका थिए । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आइतबार राति ९ बजेबाट नै मत गणना सुरु गरिने बताए  । ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ’, उनले भने । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर लमजुङको सुन्दरबजार नगरपालिका–२ मा रहेको महेन्द्र मन्दिर मावि मतदान केन्द्रबाट मतदान गरिन् । विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेता, कार्यकर्ता र निर्वाचन आयोगका प्रमुख आयुक्त, निर्वाचन आयुक्त, कर्मचारी, नागरिकलगायतले उत्साहपूर्वक मतदानमा सहभागी भएका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x