Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले पहिलो हुने संकेत

प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले पहिलो हुने संकेत


काठमाडौं । यही मंसिर ४ गते आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै ५३ क्षेत्रमा जित निकालेको छ भने एक क्षेत्रमा अग्रस्थानमा छ । नेकपा एमालेले ४२ स्थानमा जित निकालेर दुई स्थानमा अग्रता लिएको छ ।

निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका महेश बस्नेतबाट इमाल–१ मा पराजित भएका छन् । निर्वाचनमा उठेकामध्ये यो निर्वाचनबाट पूर्वप्रधानमन्त्री पराजित भएका खनाल मात्र हुन् ।

प्रत्यक्षतर्फ पहिलो भएको नेपाली कांग्रेस समानुपातिकतर्फ प्रतिनिधिसभा भने दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको एमालेलाई कांग्रेसले पछ्याउने क्रम जारी छ । यद्यपि एमाले नेपाली कांग्रेसभन्दा एक लाख २७ हजार एक सय ९० मतले अगाडि छ । अब थोरै मत गणना हुन बाँकी रहेको कारण कांग्रेसले समानुपातिकमा एमालेलाई जित्ने सम्भावना कम हुँदै गएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले २४ लाख ९७ हजार एक सय २६ र नेपाली कांग्रेसले २३ लाख ६९ हजार नौ सय ३६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५४ हजार नौ सय २२ र माओवादी केन्द्रले १० लाख ४२ हजार दुई सय २६ मत ल्याएको छ ।

समानुपातिमा तेस्रो स्थानका लागि नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा छ । आइतबार रातिसम्म माओवादीभन्दा स्वतन्त्र पार्टी १२ हजारभन्दा बढी मतले आगडि छ । प्रत्यक्षतर्फ १० स्थानमा कांग्रेस, माओवादीलगायतका गठबन्धनको कारण जित निकालेको नेकपा एकीकृत समाजवादीले तीन प्रतिशत मत ल्याउनको लागि संघर्ष गरिरहेको छ । समाजवादीले आइतबार रातिसम्म दुई लाख ४६ हजार सात मत मात्र प्राप्त गरेको छ । राष्ट्रिय पार्टी बन्न सदर मतको तीन प्रतिशत ल्याउनुपर्नेछ ।

यसैबीच, निर्वाचन आयोगले दोलखा जिल्लाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने भएको छ । आयोगले स्याङ्जा–२ र बाजुरामा के गर्ने भनेर आइतबार पनि निर्णय गर्नसकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x