Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने


काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ ।

आयोगले जिल्लाको वैतेश्वर गाउँपालिकाका तीनवटा वडा र तामाकोसी गाउँपालिकाको एउटा वडामा पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगका अनुसार वैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, सोही गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र वडा नम्बर ३ कालीढुङ्गा मावी मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ गरी आठवटा मतदान केन्द्रमा पुनः मतदान हुनेभएको छ भने तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी दुईवटा केन्द्रमा पुनः निर्वाचन हुने भएको छ ।

उक्त मतदान केन्द्रमा मतदानकार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेकोे तथा अनधिकृतरूपमा बुथ कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेकोले आयोगले गत मंसिर ४ गते भएको मतदान रद्द गरी पुनः मतदान गराउने निर्णय गरेको जनाएको छ ।

आयोगका अनुसार वैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको वैतेश्वर मावि मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’, सोही गाउँपालिका वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ गरी सातवटा मतदान केन्द्रमा बुथ कब्जा भएको थियो ।

यस्तै वैतेश्वर गाउँपालिका वडा नं. ३ कालीढुंगा मावि मतदान केन्द्र ‘ख’मा मतदान सञ्चालन गर्ने क्रममा अत्यधिक भिडभाड भई अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने तर्फको ००७२९०१ देखि ००७३००० सम्मको एक सय थान मतपत्रको अर्धकट्टी हराएकोले पुनः मतदान गर्नुगरेको हो ।

आयोगले यही मंसिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गर्नेगरी सम्बन्धित मतदान केन्द्रमा पुनः मतदानको सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, दोलखालाई निर्देशन दिएको छ । उक्त मतदान केन्द्रमा हुने पुनः निर्वाचनका लागि आवश्यक मतपत्रलगायत मतदान सामग्रीको व्यवस्थापन गर्न, मतदान केन्द्रहरूमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदानस्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न आयोगले सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

यसैगरी आयोगले मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पु-याउने वा पु-याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्रास देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिएको छ । साथै पुनः मतदान हुने १० केन्द्रहरूमा मंसिर ४ गते भएको मतपत्र रद्द गरी सुरक्षित साथ राख्न पनि आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको छ ।

यस्तै आयोगले मंसिर ४ गते उक्त केन्द्रहरूमा खटिएका राष्ट्रसेवक कर्मचारीहरूको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी उनीहरूविरुद्ध आवश्यक कारबाहीका लागि आयोगमा पेस गर्न सचिवालयलाई निर्देशन समेत दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x