Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमानुपातिकको एक करोड मतगणना

समानुपातिकको एक करोड मतगणना

विजय गच्छदारलाई झड्का


काठमाडौं । यही मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ । प्रत्यक्षतर्फ एक सय ६५ मध्ये तीन क्षेत्रबाहेक अरुका मतगणना करिब सकिनलागेको छ । सुनसरीको क्षेत्र नम्बर–४ बाहेक सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।

प्रत्यक्षतर्फ सार्वजनिक भएको परिणाममध्ये नेपाली कांग्रेसले ५४ क्षेत्रमा जित निकालेको छ भने सुनसरी–४ मा अग्रता लिएको छ । नेकपा एमालेले ४४ स्थानमा जित निकालेको छ भने नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, जनता समाजवादी पार्टीले सात, राप्रपाले सात, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ति पार्टीले तीन, राष्ट्रिय जनमोर्चाले एक, नेपाल मजदुर किसान पार्टीले एक, जनमत पार्टीले एक र पाँच जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन् ।

दोलखाका केही बुथमा भोलि बिहार निर्वाचन हुँदै छ भने स्याङ्जा–२ र बाजुरामा के गर्ने भन्नेबारेमा निर्वाचन आयोग निर्णय लिइसकेको छैन । ती क्षेत्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदान गर्नुपर्ने माग राखेर निवेदन दिएको छ ।

मंगलबार रातिसम्म समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । त्यसमा नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ भने केही महिनाअगाडि गठन भएर पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार रातिसम्म चौथो स्थान लिएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रसँग झिनो मतले मात्र उक्त पार्टी चौथो स्थानमा छ ।

पहिलो रहेको नेकपा एमालेले करिब २७ लाख मत ल्याएको छ भने दोस्रो रहेको नेपाली कांग्रेसले साढे २५ लाख मत ल्याएको छ । एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन ठूलो पहल भइरहेको छ । उक्त पार्टीले कुल सदर मतको तीन प्रतिशत मत ल्याउँछ वा ल्याउँदैन भन्ने बारेमा सबैको चासो रहेको छ । तीन प्रतिशत मत ल्याए पनि उक्त पार्टी गठनको औचित्य पुष्टि भने माधव नेपाललगायत उनको टिमले गर्न सकेन । स्थानीय तहमा निर्वाचन आयोगले करिब चार लाख मत उक्त पार्टीले ल्याएको बताउँदा त्यसका नेताहरुले त्यसको विरोध गर्दै आफूहरुले आठ लाख बढी मत ल्याएको र आमनिर्वाचनमा २० लाख मत ल्याएर तेस्रो हुने दाबी गरेको थियो । तर, अहिले समानुपातिकमा उक्त दलले ल्याएको मत लज्जास्पद देखिएको छ । मंगलबार रातिसम्म उक्त दलले दुई लाख ८१ हजार दुई सय ९४ मत मात्र ल्याएको छ । उक्त मत सीके राउतको जनमत पार्टीको भन्दा पनि कम हो । सो पार्टीलाई राष्ट्रिय मान्यताप्राप्त बनाउन दोलखामा हुने निर्वाचनमा गठबन्धनका दलहरुले समानुपातिकतर्फ सबै मत कलम चिह्नमा हाल्न लगाउनुपर्ने भनेर बहस भइरहेको छ ।

यस्तै, प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले भने नराम्रोसँग पराजय भोग्नुपरेको छ । २०४८ सालदेखि जित्दै आएका गच्छदारलाई यस पटक सत्ता गठबन्धन पाँच दलको समर्थन रहे पनि एक्लै चुनाव उठेकी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ बाट हराइदिएकी छिन् । यसले गच्छदारको संसदीय राजनीतिमा नराम्रो धक्का लागेको छ ।

२०४६ सालमा बहुदल आएपछिका छवटा निर्वाचनमा लगातार जित्दै आएका गच्छदारलाई सातौँ पटक भने एमाले उम्मेदवार चौधरीले पराजित गरेर संसद् भवन छिर्न दिइनन् । उक्त परिणाम २०७९ सालको निर्वाचनको सर्वाधिक चर्चामध्येको एउटा बन्न गएको छ । भगवतीले ४० हजार आठ सय ७८ मत ल्याएर विजय हुँदा गच्छदारले ३५ हजार छ सय मत मात्र ल्याए । भगवतीले गच्छदारको ३१ वर्ष लामो संसदीय राजनीतिको रजगज अन्त्य गरिदिएकी छिन् । भगवतीले गच्छदारलाई तेस्रो प्रयासमा पराजयको स्वाद चखाएकी हुन् ।

मंगलबार नै आएको अर्को परिणाममा धनुषाको क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका रघुवीर महासेठ कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका छन् । मधेशका अधिकांश क्षेत्रमा एमाले र जसपाबीच चुनावी तालमेल भए पनि धनुषा–४ मा भने मित्रवत् प्रतिस्पर्धा थियो । अर्थात् एमालेका महासेठ पाँच दलीय गठबन्धनका यादवसँग एक्लै चुनाव लडेर पनि निर्वाचित हुन सफल भए । त्यतिमात्र होइन मधेश प्रदेशमा एमालेलाई सबैभन्दा ठूलो दल बनाएको जस पनि महासेठलाई नै गएको छ ।

यस्तै, उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का निर्वाचित भएका छन् । उनी ३१ हजार दुई सय ७० पाएर निर्वाचित भएका हुन् । उनले नेकपा एमालेकी मञ्जु चौधरीलाई पराजित गरे । चौधरीले २८ हजार आठ सय ९१ मत पाएकी थिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x