Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थ मन्त्रालयद्वारा हेजिङ्ग सुविधाको लागि बैंकहरूसँग प्रस्ताव माग

अर्थ मन्त्रालयद्वारा हेजिङ्ग सुविधाको लागि बैंकहरूसँग प्रस्ताव माग


काठमाडौं । अर्थ मन्त्रालयले हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग प्रस्ताव माग गरेको छ । बुधबार सूचना जारी गर्दै अर्थ मन्त्रालयले १५ दिनभित्र व्यावसायिक कार्ययोजनासहितको प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

‘हेजिङ्ग नियमावली २०७९’ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाका रुपमा काम गर्नका लागि सरकारी लगानी रहेको र नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पाएको वा पूर्वाधार बैंकका रुपमा अनुमति पाएको हुनुपर्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले हेजिङ्ग सुविधा उपलब्ध गराउनका लागि प्रस्ताव पेस गर्न सकिने सूचनामा उल्लेख छ । हेजिङ्गसम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धित प्रस्तावकको कार्यक्षमताका आधारमा मूल्यांकन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग बैंकका रुपमा तोक्ने सूचनामा उल्लेख छ ।

सरकारले विभिन्न पूर्वाधार निर्माणका क्षेत्रमा आउने विदेशी लगानीको हेजिङ्ग गर्ने गरी केही समयअघि मात्रै नियमावली संशोधन गरेको थियो । नयाँ नियमावलीले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ्ग राइट (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा मात्र हेजिङ्ग गर्नसक्ने प्रावधान राखिएको छ । नियमावलीअनुसार एक सय मेगावाट वा सोभन्दा बढी क्षमताको जलाशययुक्त वा अर्धजलाशययुत्त mविद्युत् परियोजना, दुई सय २० केभी वा सोभन्दा बढी भोल्टेज क्षमताको ३० किलोमिटरभन्दा लामो विद्युत् प्रसारणलाइन र १० किलोमिटरभन्दा लामो मेट्रो वा मोनो रेलमार्गको निर्माणमा सरकारले हेजिङ्ग गर्ने व्यवस्था रहेको छ । त्यस्तै सडक, फ्लाइ ओभर, अन्डरपास, सिग्नेचर पुल, सुरुङमार्ग, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विमानस्थल निर्माण एवं विस्तारमा पनि हेजिङ्ग सुविधा दिन सक्ने व्यवस्था रहेको छ ।

दुई अर्ब रुपैयाँ भन्दामाथिको स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्राविधिको क्षेत्र, औद्योगिक पूर्वाधार र सहरी विकास सम्बन्धी पूर्वाधार परियोजनामा पनि हेजिङ्ग सुविधा दिने नियमावलीमा उल्लेख छ । हेजिङ्ग भन्नाले परियोजना कार्यान्वयनका लागि लगानीकर्ताले विदेशी ऋण लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैंकमा जम्मा गरेको हो सोही विनिमय दरमा लगानी फिर्ता लैजान पाउने गरी विदेशी विनिमय दर स्थिर गर्ने कार्य हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x