Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयातित र परम्परागतऊर्जा खपत घटाउन सुझाव

आयातित र परम्परागतऊर्जा खपत घटाउन सुझाव

स्वच्छ ऊर्जा प्रयोग बढाउने सूचना प्रवाह गर्न आग्रह


काठमाडौं । नेपालमा आयातित र परम्परागत ऊर्जा खपत घटाउन विज्ञहरुले सुझाव दिएका छन् । आयातित ऊर्जाले नेपालको अर्थतन्त्रलाई नकारात्मक असर पारेको र परम्परागत ऊर्जा खपतले रोगव्याधि बढाउनुको साथै प्राकृतिक विनाश बढाएको भन्दै विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । उनीहरुले स्वच्छ ऊर्जा खपत बढाउन सरोकारवाला निकायहरुले सेवालाई सरल र सुलभ बनाउनुपर्ने तथा सञ्चार माध्यमले स्वच्छ ऊर्जाका प्रभावकारिताको बारेमा तथ्यपूर्ण समाचार÷सूचना प्रवाह गर्दा खपत गर्नेहरुको संख्या बढ्ने दाबी गरे ।

पछिल्ला वर्षहरुमा नेपालमा जलविद्युत्को उत्पादन बढेपछि यसलाई स्वदेशमै खपत बढाउन विभिन्न प्रयासहरु भइरहेका छन् । नेपालमा पर्याप्त विद्युत् उत्पादन भए पनि खाना पकाउने काममा अझै पनि विद्युतीय चुलोको सट्टा एलपीजीको प्रयोग भइरहेको छ ।

उत्पादित बिजुली खपत नभई खेर जाने तर खाना पकाउन ग्यासको आयात हुँदा नेपालको व्यापारघाटा वर्षेनी बढ्दै गएको छ । ग्यास आयातलाई पूर्णत विस्थापित गर्न नसकिए पनि यसको खपत घटाउन सकिए मात्र पनि व्यापारघाटा कम हुने अर्थशास्त्रीहरुले पनि बताउँदै आएका छन् । तर, विद्युत्को भरपर्दो आपूर्तिमा प्रश्न उठाउँदै आम उपभोक्ताले सजिलै विद्युतीय चुलोलाई प्रयोग गरिरहेका छैनन् ।

स्वच्छ ऊर्जासँग सरोकार राख्ने विज्ञहरुले खाना पकाउने काममा जलविद्युत्लगायत अन्य स्वच्छ ऊर्जा प्रयोग किन गर्नुपर्छ भनेर सञ्चार माध्यममार्फत प्रचार भएमा आयातित र परम्परागत ऊर्जा खपत घट्ने दाबी गर्दा मंगलबार नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘स्वच्छ खाना पकाउने ऊर्जा’ विषयक अन्तिक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले भने जलविद्युत्लगायत स्वच्छ ऊर्जा खपत बढाउन राज्यको भूमिका कम भएको, विद्युत्को नियमित आपूर्तिको विश्वासनीयता अझै पनि नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

आयातित ग्यास र परम्परागत ऊर्जा खपत क्रमशः घटाउन आग्रह र विभिन्न कार्यक्रम हुँदै आए पनि राज्यले आम उपभोक्तालाई स्वच्छ ऊर्जाको आपूर्तिमा विश्वस्त पार्न सकेको छैन भने एउटा प्रविधिबाट अर्को प्रविधिमा सिफ्ट गराउन प्रत्यक्ष लाभका प्याकेज पनि ल्याएको छैन । परम्परागत रुपमा प्रयोग गर्दै आएका ऊर्जाका स्रोतहरुलाई छाड्दा आर्थिक भार थपिने र आपूर्तिमा व्यवधान आई थप दुःख पाइने हो कि भन्ने त्रासमा आम उपभोक्ता छन् । त्यसका लागि राज्यले नै ग्यास सिलिण्डरसँग विद्युतीय चुलो साट्ने, विद्युतीय चुलोमा प्रयोग हुने भाडा सहुलियत मूल्यमा उपलब्ध गराउनेजस्ता प्याकेज आएमा स्वच्छ ऊर्जा खपत बढाउन सकिने सुझाव कार्यक्रममा पत्रकारहरुले पनि दिएका थिए ।

नेपालले विद्युत् भारत निर्यात गरे पनि वार्षिक दुई खर्बभन्दा बढीको ग्यासलगायतका इन्धन आयात गर्दै आएको छ । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य रहेकाले त्यहीअनुसार प्रचार÷प्रसारका लागि सञ्चाल माध्यमहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ढकालका अनुसार सन् २००९ मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७ दशमलव १ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइँठालगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन् । सन् २००९ मा वैकल्पिक ऊर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल तीन प्रतिशत पुगेको पनि उनको दाबी छ ।

कार्यक्रममा जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत विराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठले बताइन् । उनले तराईका खासगरी सीमावर्ती क्षेत्रका बासिन्दाहरु पछिल्लो समयमा विद्युतीय चुलोप्रति आकर्षित भएका आफूले पाएको बताइन् । तराईमा फुसको घरमा विद्युतीय चुलो प्रयोगले आगलागी कम हुने भएकाले त्यहाँका बासिन्दा विद्युतीय चुलोप्रति आकर्षित भएको आफूले अध्ययनको क्रममा फेला पारेको दाबी गरिन ।

कार्यक्रममा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा राज्यले थप प्रयास गर्नुपर्ने बताए । साथै उनले सरकारको प्राथमिकता र बजेट अभावमा विद्युतीय पूर्वाधार चर्चाअनुसार सफल नबनेको, साझा प्रतिबद्धता र कार्ययोजनाको अभाव रहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । कार्यक्रममा प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रविनमान सिंह, नेवापसकी अध्यक्ष रोशनी अधिकारीलगायतले स्वच्छ ऊर्जा खपत बढाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x